Loading... आजः २९ बैशाख २०८३, मंगलवार । Tuesday 12th May 2026
ताजा खबर
  

म केही गर्छु भने समाजका लागि गर्छु : रिजाल

दैलेख जिल्लाको साविकको पिलाडी गाउँ विकास समितिमा एउटा सामान्य परिवारमा जन्मेर सामान्य विद्यालयबाटै शिक्षा आर्जन गरी समाजसेवा भावबाट निकै प्रभावित व्यक्तित्व माधव रिजाल । विभिन्न सामाजिक संघसंस्थाहरु मार्फत चेतनामुलक कार्यहरु गर्दै आउनु भएका रिजाल अहिले बाँके जिल्लाको बैजनाथमा अदुवा प्रशोधन गर्ने कम्पनीको स्थापना गरी कृषि उपज बस्तुको मूल्य र मान्यताका बारेमा ज्ञान दिँदै आउनु भएको छ । उहाँसँग प्रधान सम्पादक  खगेन्द्र अधिकारीले गरेको कुराकानीमा आधारित अंशः

माधव रिजाल

म गाउँको विद्यालयहरुमा पढ्ने बेलामा पनि अरु भन्दा फरक तरिकाले सोच्ने गर्दथे । हामी पढ्ने विद्यालयको घर किन यति सानो बनाएका होलान् भनेर । जब म माध्यमिक शिक्षा पढ्न गाउँदेखि अलि टाढा गए तब मैले तत्कालिन समयमा ७÷८ कोठा भएको एउटै घर देखे । मलाई अचम्म लाग्यो हाम्रो गाउँको विद्यालय पनि यस्तै ठूलो भएको भए हामी पढ्नकै लागि यति टाढा आउनु पर्ने थिएन । माध्यमिक शिक्षा पास गरेपछि उच्च शिक्षाका लागि जब शहर पसियो तब अझ धेरै कुरा बुझ्ने र नजिकबाट जान्ने अवसर मिल्यो । त्यस पछि म संस्थागत रुपमा जागिर गर्न थाले ।करिब १४ वर्ष आरएसडिसीमा काम गरेको अनुभव बटुल्दै २ वर्ष हेल्भेटासमा जागिर गर्ने बेलामा पाल्पामा मैले अदुवाको क्षेत्रमा काम गरे । अहिले पनि एभरेष्ट कृषि सहकारी संचालन गरेका छौ । त्यसमा पनि ८/१० जनालाई रोजगार दिन सफल भएका छौं । पाल्पामा बस्ने बेलामा अदुवा उत्पादन हुने तर त्यसको प्रशोधन र बजारीकरण नभएका कारण त्यहाँका किसानहरुले साँच्चिकै पीडा महसुस गरेको पाएँ । मलाई लाग्यो यो अदुवालाई प्रशोधन गरेर बजारीकरण गर्न सक्ने हो भने एकातिर किसानहरुको पनि आर्थिक उन्नती हुने र अर्कोतिर केही मान्छेले पनि रोजगारी पाउने । उनीहरुका दैनिक आवश्यकता परिपूर्ति गर्नकै लागि खाडि मुलुकमा धाउनु पर्ने समस्याबाट मुक्ति मिल्न सक्छ ।

बसाई सराईको क्रममा म बाँकेको हालको बैजनाथमा आएँ । समाजमा अलिकति प्रतिष्ठा कमाएका मान्छेहरुसँग मैले यो प्रस्ताव गरे । किनकी लगानीका हिसावले मैले एक्ले यो गर्न सम्भव थिएन । राज्यले केही सहयोग गर्ला भन्ने आशा पनि पलाएन मेरो मनमा । राज्यले दिने सेवा सुविधा लिनका लागि पहुँचमा नै हुनपर्ने हाम्रो देशको बिडम्बना छ । त्यसपछि एक जना साथीसँगको सल्लाहमा हामीले यो कामको शुरुवात गर्नु पर्छ भन्ने निष्कर्ष निकाल्यौ । हामीलाई साथ दिनका लागि यसको बारेमा जानकारी भएका अरु साथीहरु पनि भेटेपछि धेरै सहज भएको महसुस भयो ।

सेवा सुविधा दिनका लागि जति कञ्जुस्याँई गरेपनि हामीले कानूनको पालना त गर्नै पर्छ । त्यसैले कम्पनी नै दर्ता गरेर यो कामको शुरुवात गर्ने योजनाका साथ नवजीवन एग्रो प्रा.लि. को दर्ता गरेपछि औपचारिक रुपमा काम शुरु भयो । अजिंगरको आहारा दैवले पु¥याउँछ भने झैँ साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजनाले हामीलाई सहयोग ग¥यो । हामीले उक्त आयोजनाको जिञ्जर प्रोसेसिङ्ग एण्ड मार्केटिङ्ग उपआयोजना अन्तर्गत अदुवा प्रशोधन शुरु ग¥यौ । अहिले अदुवाबाट पाउडर, पेष्ट, चिप्स, सुठोलगायतका बस्तुहरुको उत्पादन गरिरहेका छौ ।

वार्षिक ८ सय मेट्रिक टन उत्पादन गर्ने लक्ष्य राखिएको उक्त वस्तुहरु नेपाल तथा भारतका विभिन्न शहरहरुमा बिक्री वितरण गर्ने योजना अनुसार अहिले देश बाहिर पनि पठाउन शुरु गरिसकेका छौ । विशेष गरी दैलेख, सुर्खेत र सल्यानमा उत्पादित अदुवालाई संकलन केन्द्रहरुको स्थापना गरेर कारखानाले खरिद गरी प्रशोधन गरेकाले त्यस क्षेत्रमा उत्पादन भएको अदुवाले बजार पाएको छ भने अर्कोतिर अदुवा उत्पादन तर्फ कृषकहरुको ध्यान समेत खिचिएको छ । जसले गर्दा कृषि क्षेत्रलाई निकै टेवा पुग्ने आशा गरेको छु ।

कृषि तथा कृषि जन्य पदार्थको उत्पादन, विविधिकरण तथा बजारीकरणका माध्यामबाट आर्थिक तथा सामाजिक समृद्धिको परिकल्पना तथा कृषिजन्य वस्तुको उत्पादन प्रसोधन र वजारीकरण गर्ने, नगदे वालीहरुको वीउ विजनको प्रशोधन तथा भण्डारण, बजारीकरण, पशुजन्य (डेरी प्रोडक्ट) उत्पादन गर्ने मुख्य उद्देश्य छ । जुन एक दिन अवश्य पूरा गरेरे छाड्छौ । किनकी त्यसको शुरुवात भएको नै एक वर्ष पुगिसकेको छ ।

२०७३ कार्तिक २९ गतेदेखि शुरु गरिएको उप आयोजनाको भौतिक व्यवस्थापनको कार्य २०७४ कार्तिक १५ गते सम्पन्न भएको हो । कूल लागत कूल लागत ः २ करोड ९० लाख १३ हजार २ सय ५६ रुपैयाँ ८३ पैसा रहेको यो उप आयोजनामा साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजनाबाट अनुदान स्वरुप ६७ लाख २३ हजार ८७ रुपैयाँ ९ पैसा रहेको छ भने नवजिवन एग्रो प्रा. लि. को २ करोड २२ लाख ९० हजार १ सय ६९ रुपैयाँ ७४ पैसा हामी संचालकहरुले नै लगानी गरेका छौ । विभिन्न सहकारीसंग ताजा अदुवा खरीद गर्ने, सहकारीमा आवद्ध कृषकहरुलाई तालिम, प्राविधिक सेवा तथा वीउ खरीदमा अनुदान प्रदान गर्ने लक्ष्य अनुरुप नवजीवन अगाडि बढिरहेको छ । नवजीवनले अदुवाको प्रशोधन कारखानाकै स्थापना गरी आधुनिक उपकरणहरुबाट अदुवा प्रशोधन गर्दै स्थानीयस्तरमै रोजगारीको सिर्जना गर्ने लक्ष्य प्राप्ति गरेकोले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा भएपनि स्थानीयस्तरमै रोजगारीको सिर्जना गरेका छौ ।

‘अदुवा बालीको प्रशोधन तथा बजारिकरणका लागि विभिन्न सरोकारवाला सरकारी, गैरसरकारी, सहकारी र निजी फार्म, व्यापारीहरुसंँग समन्वय तथा सहकार्यका क्रियाकलाप सञ्चालन गरिरहेका छौ र अझैँ यसलाई व्यापाक रुपमा अगाडि लैजान्छौ । हामीले जुन कार्य गरेका छौ यसले आम्दानीका अवसरहरु बृद्धि भइरहेका छन् । प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा १ हजार ६ सय ५६ जना कृषकहरुले रोजगारी पाउने अवस्थाको सिर्जना गर्ने वातावरण कहिले बनाउन सकिएला भनेर एकोहोरो दिमाग चलाउनु परेको थियो । तर अहिले हामी त्यो स्थानमा पुगेका छौ ।

साविकका मध्य तथा सुदूरका कतिपय जिल्लाहरुमा अदुवा उत्पादकहरु अदुवाले बजार नपाउने हो कि भनेर चिन्तित बनेका बेला बाँकेमा हामीले स्थाापना गरेको अदुवा प्रशोधन केन्द्रले त्यस्ता किसानहरुको चिन्तालाई कम गरेको छ । नेपालमा उत्पादन हुने अदुवा तथा अदुवाबाट उत्पादित बस्तुहरु भारतले सजिलै निकासी गर्न नदिने भएकाले पनि हामीलाई पनि केही समस्या परेका छन् । त्यता तर्फ सरकाले पहल गरिएको भए अझ सहज हुने थियो । सबै कुरा आयात मात्र गर्न जानेका हामीहरु अब निर्यात गर्ने तर्फ पनि लाग्नु पर्छ ।

जीवनमा कुनै पनि कुरामा सफलता प्राप्त गर्नका लागि दुःख, निरन्तरता र त्याग गर्नै पर्छ । त्याग र विश्वास विना कुनै कुराको पनि सम्भव छैन । मासिक २० हजार कमाउनका लागि खाडिमा नै जानु पर्छ भन्ने छैन । आफ्नै गाउँ ठाउँमा पनि केही गर्न सकिन्छ भन्ने बुझ्नु जरुरी छ । नेपालको जनशक्ति प्राविधिक रुपमा कमजोर होला तर अन्य कुरामा कमजोर छैन । त्यसैले सरकारले सीप विकासका कार्यक्रम ल्याउनु पर्छ र युवाहरु सीप विकासमा लागेर आफ्नो व्यक्तिगत देखि राष्ट्रकै समृद्धिका लागि प्रसस्त मात्रामा भएको जल, जमिन र जडिबुटिलाई उपयोग गर्न तर्फ लाग्नु पर्छ ।

काँक्रेविहार