Loading... आजः २८ बैशाख २०८३, सोमबार । Monday 11th May 2026
ताजा खबर
  

सामुदायिक अस्पताललाई दुई करोड सहयोग

 

बाबियाचौर, म्याग्दी, १९ चैत

बेनी नगरपालिका–१० पात्लेखेतमा सञ्चालन हुन लागेको सामुदायिक अस्पताललाई एक परिवारले करीब रु दुई करोड बराबरको जग्गा र भौतिक पूर्वाधार सहयोग गरेका छन् ।

प्रस्तावित रघुनाथ भद्रकाली स्मृति समुदायिक अस्पतालका लागि पात्लेखेतका राधाकृष्ण शर्माको परिवारले रु सत्तरी लाख मूल्य पर्ने पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराउने घोषणा गर्नुभएको हो । शर्माले यसअघि उक्त अस्पतालको भवन निर्माणका लागि रु एक करोड सहयोग गर्नुभएको थियो । स्थानीयवासीको रु ३० लाखको लागतमा भवन निर्माण भइसकेको अस्पताल भवन निर्माण समितिका सदस्य भरत रकालले जानकारी दिनुभयो ।

पात्लेखेतमा आइतबार प्रदेशसभा सदस्य विनोद केसी, बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठलगायत सरोकारवालाको उपस्थितिमा भएको कार्यक्रममा सहयोगदाता शर्माका छोरा रमेशले सहयोगको घोषणा गर्दै अस्पताल सञ्चालनको वातावरण बनाउन सहयोगका लागि आग्रह गर्नुभयो । सरकारले अनुमति नदिँदा दुई वर्षअघि निर्माण गरिएको सामुदायिक अस्पतालको भवनमा हाल पात्लेखेत स्वास्थ्यचौकी सञ्चालन हुँदै आएको छ । अस्पताल सञ्चालनका लागि सरकारले अनुमति प्रदान गरेको खण्डमा शर्माले थप पाँच रोपनी जग्गा उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।

शर्माले म्याग्दी बहुमुखी क्याम्पस, गलेश्वर शिवालय क्षेत्रको विकासमा ठूलो आर्थिक सहयोग गर्नुभएको छ । शर्मा परिवारले जग्गा र भवनमा करीब रु एक करोड ७५ लाख सहयोग गरेको सदस्य रकालले जानकारी दिनुभयो । पात्लेखेतमा सामुदायिक अस्पताल सञ्चालन भएमा घतान, पात्लेखेत, वाखेत, पाखापानीका बासिन्दालाई स्वास्थ्य सेवामा सहज हुने अपेक्षा गरिएको छ ।

(रासस)