Loading... आजः २७ बैशाख २०८३, आईतवार । Sunday 10th May 2026
ताजा खबर
  

रारा महोत्सवले गर्ला त पर्यटनको विकास

कर्णाली प्रदेश सरकारले २०७५ साललाई पर्यटन वर्षको रुपमा मनाउने घोषणा गरेसँगै रारा महोत्सवको आयोजना गरिएको छ । ‘धर्तीकी अप्सरा’ को नामबाट परिचित रारामा महोत्सव गर्नु राम्रो हो । रारामा महोत्सव गर्दा राराको पहिचान मात्र होइन यसको व्यापक प्रचार प्रसार गर्न सकिन्छ पनि । आन्तरिक तथा बाह्य पर्यटकहरुलाई एक पटक घुम्नै पर्ने स्थानको रुपमा रारालाई विकसित गर्न जरुरी पनि छ । कर्णाली प्रदेशको सम्भावनाको रुपमा यहाँको जल, जमिन र जडिबुटीलाई लिने गरिएको छ ।

हस्तराज रेग्मी

प्रशस्त मात्रामा रहेको जल र जमिनका साथै यस प्रदेशमा भएका जडिबुटिहरुलाई प्रयोग गर्न सकेको खण्डमा यस प्रदेशको समृद्धि हुन सक्छ । पछिल्लो समय सबैभन्दा गरिब प्रदेशको रुपमा चिनिएको भएपनि यसलाई सबै प्रदेशहरु भन्दा उत्कृष्ट प्रदेश बनाउन त्यति गा¥हो छैन । तर त्यसका लागि आधुनिक प्रविधिसँगै गुरुयोजनाको निर्माण गरेर अगाडि बढ्न पनि जरुरी छ ।

पर्यटन प्रवद्र्धन गर्नका लागि तत्कालिन मध्यपश्चिममा विभिन्न मेला तथा महोत्सवहरु नभएका होइनन् । पर्यटकीय महोत्सवको नाम दिएर सीमित व्यक्तिहरुले लाभ लिने गरेको सबै सामु स्पष्ट छ । किनकी विभिन्न महोत्सवको आयोजना गर्ने अनि त्यसको आय व्यय विवरण समेत सार्वजनिक नगर्नु नियति नभएर नियत हो । वर्षको एकपटक महोत्सवको आयोजना गरेर पर्यटनको प्रवद्र्धन हुन्छ भन्नु व्यर्थ छ । अहिले प्रदेश सरकारको आयोजनामा हुन लागेको रारा महोत्सवले यही हविगत व्यहोर्नु नपरोस् । रारामा महोत्सवको आयोजना गर्दैमा त्यहाँ पर्यटकको घुँइचो लाग्दैन । महोत्सव अवधिभर हवाई र स्थल मार्ग भएर नेपाली जनताले तिरेको करबाट विलको फरफारक गरेर पर्यटनको विकासमा टेवा पुग्दैन । साँच्चिकै पर्यटन भित्र्याउने हो भने कर्णालीको प्रवेशद्वारको रुपमा रहेको कर्णाली प्रदेशको राजधानी सुर्खेतदेखि रारासम्म पुग्ने बाटोलाई स्तरोन्नती गर्नु आवश्यक छ ।

रारा पुग्ने पर्यटकहरुलाई बास बस्ने होटल तथा लजको राम्रो प्रबन्ध हुनु जरुरी छ । तर यहाँ रारामा महोत्सव गर्ने नाममा संघीय, प्रदेश र स्थानीय तहको निर्वाचन ताका राजनीतिक दलहरुले आफ्नो चुनाव चिन्ह भएको टि–सर्ट र टोपी जस्ता कपडाहरु वितरण गरेका थिए । चन्दा, सहयोग, अनि केही त घर घडेरी बेचेर निर्वाचनका नाममा खर्चे झै यसपटक जनताले तिरेको करलाई त्यसरी नै प्रयोग गर्न थालिएको छ । रारा महोत्सवको लोगो अंकित टि–सर्टहरु बजारमा देखिन थालेका छन् । टि–सर्टमा लोगो छाप्दैमा पर्यटन वर्षले सफलता प्राप्त हुँदैन । हेलिकोप्टरबाट रारा पुग्दैमा पर्यटनको प्रवद्र्धन हुँदैन ।

वर्तमान एवम् पूर्व प्रधानमन्त्री रारा पुग्दैमा यसको विकास हुँदैन । यसको विकास गर्नका लागि कुनै दिन माओवादी नेताहरुले उठान गरेको सुर्खेत जुम्ला केवलकारको योजना ल्याउनु पर्ने हो । सरकारी स्तरबाट लगानीको वातावरण तयार गरी सुविधा सम्पन्न होटलको व्यवस्था गर्नु पर्ने हो । मृत्युमार्गको रुपमा चिनिएको कर्णाली राजमार्गको स्तरोन्नती गर्नु पर्ने हो ।

स्तरीय बाटो निर्माण बिना यात्रा सहज हुँदैन भन्ने कुरा बुझ्न जरुरी छ । कर्णाली प्रदेशलाई समृद्ध बनाउनका लागि भौतिक विकासमा खर्च गर्ने रकमलाई महोत्सवमा खर्च गरिँदा बाटोको अवस्था ज्यू का त्यूँ अनि कसरी हुन्छ पर्यटकको आगमन ? बास बस्नका लागि होटल छैन । खानका लागि राम्रो खान छैन । कर्णालीवासी त ढुङ्गाको सिरानी हालेर चौरमा पनि निदाउन सक्लान् तर बाह्य पर्यटकहरु कदापी त्यसो गर्ने छैनन् ।

सुर्खेतदेखि रारासम्म पुग्नका लागि बाटोको राम्रो व्यवस्था नगर्ने, बाटोमा राम्रा होटलहरुको व्यवस्था नगर्ने, त्यस क्षेत्रका व्यापारीहरुलाई लगानी गर्ने वातावरणको सिर्जना र सहुलियतहरु नगरेर केवल रारामा महोत्सवको आयोजना मात्र गर्ने र रारा घुम्ने निम्तो बाँडेर पर्यटनको विकास हुँदैन ।

रारा पुग्नका लागि सहज वातावरणको सिर्जना गर्ने हो भने रारा आउनका लागि प्रदेश सरकारले निम्तो बाँडिराख्नु पर्दैन । भौतिक पूर्वाधारको विकास नगरेर केवल देखाउनका लागि मात्र रारा महोत्सव गरियो भने त्यसले केही व्यक्तिहरुलाई मात्र सीमित लाभ हुनेछ । प्रदेश सरकारले जुन लक्ष्य र उद्देश्य राखेको छ त्यो नारामा मात्र सीमित हुनेछ ।

प्राकृतिक रुपमा कर्णाली प्रदेशमा निकै सम्भावनाहरु छन् भनेर ढोल पिट्नेहरु ती सम्भावनाहरुलाई टिप्न सक्छन् या सक्दैनन् । त्यो त समयले देखाउने छ । कर्णाली प्रदेश सरकारले आयोजना गर्न लागेको रारा महोत्सवलाई पहिलो कुरा आर्थिक अनियमितता हुनबाट जोगाउनु प्रदेश सरकारको मुख्य दायित्व हो । विभिन्न सार्वजनिक पद धारणका नाममा राज्यको पैसाको दोहोन हुनु दिनु हुँदैन । रारा महोत्सवको लागि छुट्याएको पैसा, राराले कमाएको पैसा राराकै विकासका लागि खर्च गर्नु पर्छ ।

राराबाट शुरु हुने पर्यटन वर्षले साराको मन जित्न सकोस् । त्यो वातावरण प्रदेश सरकार, स्थानीय सरकार र कर्णालीवासीले सिर्जना गर्नु पर्छ । स्वच्छ र पवित्र मनले यस प्रदेशमा भएका ठूला र चर्चित मात्र होइन लुकेर बसेका पर्यटकीय स्थलहरुमा समेत साना ठूला कार्यक्रमको आयोजना गर्दै पर्यटकीय क्षेत्रको विकास र विस्तारमा टेवा पु¥याउनु जरुरी छ ।