नयाँ वर्षको शुभकामना
बिक्रमादित्यले शुरु गरेको विक्रम सम्बत २०७५ आउन अब धेरै घण्टा बाँकी छैन । नयाँ वर्षलाई पनि नेपालीहरुले खुसीयालीका साथ मनाउने गर्दछन् । विक्रम सम्बत हिन्दू पञ्चाङ्गमा आधारित नेपालको राष्ट्रिय पात्रो हो । यो प्राचिन हिन्दु परम्परा र वैदिक समयाङ्कनमा आधारित शौर्य पात्रो हो । यो ग्रेगोरियन पात्रो (अङ्ग्रेजी पात्रो) भन्दा ५७ वर्ष ८ महिना १५ दिन अगाडी छ । यस पात्रोमा वर्षको सुरूवात बैशाख महिनाको पहिलो दिनबाट हुन्छ । विक्रम सम्बत सूर्यसँग सम्बन्धित भएकाले विक्रम सम्बत ग्रह नक्षत्रका नाम पनि महिनाहरूसँग सम्बन्धित छन् । राजा विक्रमादित्यले सुरुवात गरेको विक्रम सम्बतको नेपालमा आधिकारिक रूपमा चन्द्र शमशेरको पालादेखि सुरू भएको हो । नयाँ वर्ष प्रचलनमा रहेको पात्रोको प्रथम दिन तथा वर्ष वा सालको सुरुवातलाई भनिन्छ । सो दिनमा प्रचलित परम्परा अनुसार बिभिन्न कार्यक्रमहरू आयोजन गरिन्छ । यस अवसरमा आपसमा सद्भावको आदानप्रदान गर्ने शुभकामना लिने दिने, साथीभाइ इष्टमित्र भेटघाट गर्ने, वनभोज कार्यक्रमको आयोजना गर्ने, मठ मन्दिरमा गई पूजाआजा गर्ने, मीठामीठा परिकार खाएर हर्षोल्लासका साथ मनाउने गरिन्छ । विगतका नराम्रा क्रियाकलापलाई सच्याएर नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लागेर आर्थिक, सामाजिक र सांस्कृतिक विकास गर्ने प्रेरणा मिलोस् सबै नेपालीहरुमा ।
२०७४ साल नेपालका लागि निर्वाचनमय साल बन्यो । यो सालमा स्थानीयतहदेखि प्रदेश र संघीय लगायत राष्ट्रपति उपराष्ट्रपतिसम्मका निर्वाचन भए । यी सबै तहका निर्वाचनमा छिटफुट बाहेक खासै नराम्रा घटनाहरु देख्नु र सुन्नु परेन । जसले गर्दा पनि २०७४ साल नेपाल र नेपालीका लागि त्यत्ति नराम्रो भयो भन्न मिल्दैन । गर्नुपर्ने निर्वाचनहरु भइसकेपछि अब देशलाई विकासको गतितर्फ अगाडि बढाउनु पर्ने बेला आएको छ । खासमा २०७४ सालमा निर्माण भएको सरकारले नेपाल र नेपालीका लागि ठूलो योगदान गर्ने समय हो यो । राजनीतिक रुपमा भएका तिक्तताहरुलाई मेटाउँदै संविधानको अक्षरस पालना गर्दै सबै पक्ष र प्रतिपक्षहरु समेत एक भएर नेपालीको मुहारमा खुसीका रेखाहरु दौडाउन सकोस् नयाँ वर्ष २०७५ ले ।
२०७२ सालमा बनेको संविधानलाई कार्यान्वयन गर्ने कार्यमा कोही र कुनै पक्षले बाधा पु¥याउनु हुँदैन । २०७२ सालमै आएको भू–कम्पका कारण घरबार बिहिन बनेकाहरुको पुनस्र्थापना गर्न सक्नु पर्छ २०७५ सालमा । २०७४ सालमा प्रदेश सरकारहरु समेत गठन भएका छन् । कर्णाली प्रदेश सरकारले २०७५ साललाई पर्यटन वर्षका रुपमा घोषणा गर्दै रारा महोत्सवको आयोजनाको तयारी समेत पूरा गरेको छ । भोक, रोग र गरिबीको कारणले पछाडि परेको भनिएको कर्णालीलाई २०७५ सालदेखि अन्य प्रदेशको दाँजोमा पु¥याउँदै यस प्रदेशका जनताको जीवनस्तर उकास्न प्रदेश सरकारले निकै प्रयत्न गर्नु पर्नेछ । यस प्रदेशका मुख्यमन्त्री र अन्य मन्त्री तथा सांसदहरु अब फेसबुक र ट्विटर जस्ता सामाजिक सञ्जालमा अल्झिनु भन्दा प्रदेशको समृद्धि कसरी गर्न सकिन्छ भन्ने तर्फ लाग्नु पर्छ । नयाँ वर्ष २०७५ ले सबैमा सद्बुद्धि दिन सकोस् । क्वीकखबर डटकमको शुभकामना ।






