बालिकाहरुको शिक्षाको जिम्मा जयन्तिले लिइन्
सुर्खेत ।
हाल अमेरिकामा बस्दै आएकी सुर्खेती चेली जयन्ति थापाले गरिब तथा असहाय तीन जना बालिकाहरुको शिक्षाको जिम्मा लिएकी छन् । जयन्तिले वीरेन्द्रनगर १२ पदमपुरमा रहेको जनजागृत प्राथामिक विद्यालयमा बालविकास तहमा अध्ययनरत अमृता रेग्मी, कक्षा १ मा अध्ययनरत डिलकुमारी रेग्मी र कक्षा ३ मा अध्ययनरत मनिषा रेग्मीको पढाइको जिम्मा लिएकी हुन् । यी तीनवटै बालिकाका आमा बाबु नै सिद्धबहिरा भएको र उनीहरुको आर्थिक अवस्था निकै कमजोर रहेको उक्त विद्यालयका प्रधानाध्यापक ज्ञानु सुवेदी गैरेले जानकारी दिइन् ।

तीन जना बालिकाहरुलाई निरन्तर पढाइको जिम्मा लिई उनीहरुलाई विद्यालय पोषाक र आवश्यक स्टेशनरी एक कार्यक्रमको आयोजना गरी समाजसेवी जयन्ति थापाका पिता धर्मजंग थापा र माता पार्वती थापाले संयुक्त रुपमा आइतबार हस्तान्तरण गरे । सामग्री हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि एवम् वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ का वडाअध्यक्ष लोकप्रसाद चालिसेले भने जयन्ति थापा जस्ता ठूलो मन सहयोगी भावना भएका व्यक्तिबाट अरुहरुले सिक्नु पर्दछ । यस्तै उदार मन सबैको हुने हो भने कुनै पनि असहाय बालबालिकाहरु शिक्षाको ज्योति पाउनबाट बञ्चित हुनु नपर्ने उनको भनाई थियो ।
गरिब तथा असहाय बालबालिकाहरुलाई पढ्न पाउने अवसर प्रदान गरेकोमा आफू निकै खुसी भएको जयन्तिका बुबा धर्मजंग थापाले बताए । सानै उमेरबाट सहयोगी भावना बोकेकी भएकोले जयन्ति अहिलेपनि सहयोग गर्न लालायित भएको देख्दा निकै खुसी लागेको जयन्तिकी आमा पार्वती थापाले बताइन् ।
जयन्ति थापाले आफ्नो गृहजिल्ला रुकुममा पनि ५ जना बालबालिकाहरुको पढाईको जिम्मा लिइसकेकी छन् । यससँगै उनले पढाईको जिम्मा लिएका बालबालिकाहरुको संख्या ८ पुगेको छ । समाजसेवा को क्षेत्रमा विशेष योगदान दिँदै आएकी जयन्ति थापाले यस अघि उक्त विद्यालयमा रहेका गरिब तथा असहाय बालबालिकाहरुलाई जाडोको समयमा न्यानो कपडा समेत वितरण गरेकी थिइन् ।






