स्थापना दिवसमा अन्तरक्रिया
सुर्खेत १६ बैशाख ।
विगतका कमजोरीको समिक्षा गरी अबको पत्रकारितालाई अनुकरणीय बनाउनुपर्नेमा सुर्खेतका पत्रकारहरुले जोड दिएका छन् । पत्रकार महासंघ सुर्खेत शाखाको २६औँ स्थापना दिवसको अवसरमा आइतबार वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा अबको पत्रकारिता बिकास केन्द्रित हुनु पर्ने उनीहरुको भनाई छ ।

वर्तमान अवस्थामा सुर्खेतको पत्रकारिता विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले अवसरलाई आत्मसात् गरी काम गर्न पत्रकारलाई सुझाव दिए । उनले देशको समृद्धिका लागि पत्रकारिता गर्न आग्रह गरे । अरुको आलोचना गर्नुभन्दा आफू सच्चिएर काम गर्न सेजुवालको सुझाव छ ।
महासंघ सुर्खेत शाखाका अध्यक्ष गणेशकञ्चन भारतीले अग्रजलाई सम्मान गर्ने संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिए । महासंघका पुर्व अध्यक्षहरु कमलेश डिसी, मोतिप्रसाद पौडेल, सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) कर्णाली प्रदेशका अध्यक्ष रमेशकुमार गौतम, प्रेस चौतारी सुर्खेतका अध्यक्ष सुर्यप्रकाश कँडेललगायतले आफ्नो अनुभव राखेका थिए । यस वर्ष ‘नयाँ संरचना र नवीन परिवेशमा सम्भावना अपारः सक्षम पत्रकार र मर्यादित पत्रकारिता समृद्दिको आधार’ भन्ने नारा सहित नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको २६ आँै स्थापना दिवस मनाएको हो ।






