कृषि मन्त्रीद्वारा सहकारी अवलोकन
सुर्खेत
कर्णाली प्रदेशका कृषि मन्त्री एवम् प्रदेश सरकारका प्रवक्ता बिमला केसीले एक सहकारीको अवलोकन गरेकी छन् । मन्त्री सानो सुर्खेतमा भूमि व्यवस्था सम्बन्धि कार्यका लागि जाने क्रममा वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ मा रहेको जनचेतना कृषि सहकारी संस्थाको अवलोकन गरेकी हुन् ।
अवलोकनको क्रममा मन्त्री केसीले भनिन्, कृषिमा निकै ठूलो सम्भावना भएकोले र आफूले अवलोकन गर्दा यस क्षेत्रमा उत्साहजनक अवस्था देखेकोले आउँदो आर्थिक वर्षमा यस क्षेत्रलाई कृषिको विशेष क्षेत्रको रुपमा अघि सार्नका लागि पहल गर्नेछु । साथै सांसद पदमा खड्काले यस सहकारीले कृषिको क्षेत्रमा गरेको कार्यको मन्त्रीलाई जानकारी गराउँदै कृषिको पकेट क्षेत्रको रुपमा यसलाई विकास गर्न आग्रह गरिन । साथै उनले भनिन्, कृषि सम्बन्धि अर्गानिकको क्षेत्रमा समेत वीरेन्द्रनगर ११ ले फड्को मार्न सक्ने सम्भावना छ । त्यसको लागि सरकार र स्थानीयस्तरबाट पहल हुन आवश्यक छ ।

मन्त्रीका साथमा प्रदेश सभा सदस्य बिन्दमान विष्ट, पदमा खड्का, मन्त्रालयका सचिव शिवनारायण चौधरी, वीरेन्द्रनगर ११ का वडाअध्यक्ष नन्दलाल शर्मा र संस्थाका अध्यक्ष काँशीराम शर्मा एवम् अन्य कृषक तथा उपभोक्ताहरुको उपस्थिति रहेको थियो ।






