Loading... आजः १६ बैशाख २०८३, बुधबार । Wednesday 29th April 2026
ताजा खबर
  

ग्यास कम्पनीद्वारा सरकारलाई करोडौंको राजस्व ठगी

 उदयसिंह श्रेष्ठ

नेपालगन्ज, ६ असार

नेपालगन्जस्थित ग्यास कम्पनीले आन्तरिक राजस्व कार्यालयमा आयकर बुझाउने बेला करोडौंको राजस्व ठगी गरेको अहिले नगरमा ब्याप्त चर्चा पाएको छ । राँझास्थित नेपाल आयल निगमका प्रमुख विनित मणी पोखरेलले दिएको जानकारी अनुसार मासिक रुपमा यहाँस्थित भेरी ग्यासले १२०० मेट्रिक टन र मनकामना ग्यास उद्योगले ९३६ मेट्रिक टन ग्यास आयात गर्ने अनुमति अनुसार ग्यास सिलिण्डर बिक्री वितरण गरेका छन् । ग्यास कम्पनीले भारतको मथुराबाट आयात गरिने ग्यास बुलेट अनुसार एक बुलेटमा १७.६१ मेट्रिक टनको भारतीय रु. ७ लाख ७४ हजार २ सय ९, ७ प्रतिशत बिमा तथा भाडा, ५ प्रतिशत भन्सार दस्तुर र १३ प्रतिशत मूल्य अभिबृद्धि कर गरी जम्मा नेपाली मूल्य रु. १५ लाख ७३ हजारमा आयात हुने गरेको देखिन्छ । अर्थात अन्य आन्तरिक खर्च छोडेर ग्यास कम्पनीलाई एक ग्यास सिलिण्डरलाई रु. १२५०÷– पर्ने देखिन्छ ।

Related image

नेपाल आयल निगमका क्षेत्रीय प्रमुख पोखरेल भन्नुहुन्छ–‘१ मेट्रिक टन ग्यासबाट ७० ग्यास सिलिण्डर भरिन्छ ।’ नेपाल आयाल निगमबाट मासिक स्वीकृत भएका भेरी ग्यासले १२०० मेट्रिक टनका अनुसार मासिक ८४ हजार ग्यास सिलिण्डर तयार गरी बिक्री वितरण गरेको देखिएको छ भने मनकामना ग्यास उद्योगले स्वीकृत पाएको ९३६ मेट्रिक टनबाट ६५ हजार ५ सय २० ग्यास सिलिण्डर बिक्री वितरण गरेको देखिएको छ । भारतबाट आयात हुने ग्यासको बुलेट यी दुई कम्पनीको उद्योगसम्म पुग्दा प्रति सिलिण्डर रु. १२५०÷– खर्च पर्छ भने कम्पनीले डिलरलाई रु. ५८ मुनाफा लिँदै रु. १३०८÷– मा बिक्री वितरण गरेको पाइएको छ ।

डिलरले उपभोक्तालाई प्रति सिलिण्डर रु. १ हजार ३ सय ४० मा बिक्री वितरण गर्ने गर्छन् । एक सिलिण्डर ग्यासमा कम्पनीले प्रति सिलिण्डर रु. ५८÷– का दरले भेरी ग्यास उद्योगले मासिक रु. ४८ लाख ७२ हजार र वार्षिक रु. ५ करोड ८४ लाख ६४ हजार मुनाफा गरेको देखिएको छ भने त्यस्तै मनकामना ग्यास उद्योगले मासिक रु. ३८ लाख १ सय ६० र वार्षिक रु. ४ करोड ५६ लाख १ हजार ९ सय २० मुनाफा गर्ने गरेको पाइएको छ । उपभोक्ताले प्रयोग गर्ने ग्यास सिलिण्डर सिधिएको अवस्थामा खाली सिलिण्डरमा २ सय देखि ३ सय ग्राम ग्यास हुने गरेको एक ग्यास सिलिण्डर व्यवसायीले बताए । खाली ग्यास सिलिण्डरमा रहलपहल करिब ३ सय ग्राम ग्यास कम्पनीको अतिरिक्त मुनाफा भएको व्यवसायीहरुको भनाई रहेको छ ।

भेरी ग्यासले करिब–करिब रु. ६ करोड र मनकामनाले रु. ४ करोड ५६ लाख आम्दानी अनुसार आन्तरिक राजस्व कार्यालयमा मुनाफामा करिब ३० प्रतिशत आयकर बुझाएको नदेखिएको आन्तरिक राजस्व कार्यालयका एक कर्मचारीले आफ्नो नाम गोप्य राख्ने शर्तमा बताए । सरदर अनुसार आन्तरिक खर्चबाहेक भेरी ग्यासले रु. ९० लाख खर्च कटाएर मोटामोटी रु. १ करोड ५० लाख र मनकामना ग्यासले ६० लाख खर्च कटाएर रु. १ करोड २० लाख आयकर बुझाउनु पर्नेमा अहिलेसम्म त्यत्ति ठुलो रकम उक्त आयकर नबुझाएको बताइएको छ । ती कर्मचारीले भने–‘रु. १ करोडमा मुनासिब खर्च करिब रु. १५लाख मात्र देखाउन सकिन्छ ।

तर लेखा परिक्षकले घुमारो पाराले हिसाब पेश गर्ने भएकाले राजस्व न्यून रुपमा संकलन भइरहेको छ ।’ भारतबाट आयात हुने चामलको ट्रक पक्राउ परेपछि नीति नियम लगायत राजस्व छलीको विषयमा अख्तियार अनुसन्धान आयोगले चासो देखाउँदै भन्यो–‘राजस्व छली गर्ने जो कोहीलाई कानुनी दायरामा ल्याइने छ ।’ अख्तियारका एक अधिकृत कर्मचारीले भने–‘सरकारी राजस्व ठगी गर्ने नियत कोही कसैमा आएको देखियो भने पनि सुक्ष्म छानबिन हुन्छ । यसमा कम्पनीका मालिक होस् वा हिसाब देखाउने पेश गर्ने जो कोहीको विषयमा सुक्ष्म अनुसन्धान हुन्छ ।’