शिक्षालाई श्रम र उत्पादनसंग जोड्नुपर्छ : मुख्यमन्त्री शाही
सुर्खेत, असार ८ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले शिक्षालाई श्रमसंग जोड्नुपर्ने वताउनुभएको छ । श्रमविना विकास असंभव भएको वताउदै मुख्यमन्त्री शाहीले मुलुकको समग्र विकास र समृद्धिका लागि शिक्षालाई श्रमसंग जोड्नुपर्ने वताउनुभएको हो ।
एसओएस वालग्राम सुर्खेतको आयोजनामा आज भएको अन्तराष्ट्रिय एसओएस दिवसलाई सम्वोधन गर्दै मुख्यमन्त्री शाहीले शिक्षा आर्जन गरिसकेपछि श्रमवाट भाग्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने वताउनुभयो । ‘अहिले पनि थुप्रै विद्धानहरु झोलामा ल्यापटप वोकेर हिड्नुहुन्छ, पावर प्वाईन्ट प्रिजेण्टेशन देखाउनुहुन्छ अव यसले पुग्दैन ।’ मुख्यमन्त्री शाहीले भन्नुभयो – ‘कृषि विज्ञ हो भने स्याउ सुन्तला आँप कागति फलाउनुपरयो, आफुले आर्जन गरेको ज्ञानलाई उत्पादनमा व्यक्त गर्नुपर्यो ।’
मुख्यमन्त्री शाहीले अहिलेको शिक्षा प्रणालीमा पनि आमुल परिवर्तनको आवश्यकता रहेको औंल्याउनुभयो । मुलुकको गरिवि हटाउन र आर्थिक समृद्धि प्राप्त गर्न प्राविधिक शिक्षाको जरुरी रहेको वताउदै मुख्यमन्त्री शाहीले उत्पादन र श्रमसंग जोडिने शिक्षा प्रणाली विकास गर्नुपर्ने वताउनुभयो ।
समाजिक, आर्थिक र साँस्कृतिक कारणले शिक्षा क्षेत्रवाट वञ्चित वालवालिकालाई शिक्षित गराउन एसओएस वालग्राम विद्यालयले महत्वपुर्ण भुमिका खेलेको वताउदै मुख्यमन्त्री शाहीले प्रशंसा गर्नुभयो । शैक्षिक क्षेत्रको विकासका लागि गैरसरकारी क्षेत्रको समेत ठुलो योगदान रहेको वताउदै राम्रो काम गर्ने गैरसरकारी संस्थासंग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको मुख्यमन्त्री शाहीको भनाई छ ।






