विद्यार्थीको आन्दोलन चर्किदै : प्रहरी दमन झन कडा
सुर्खेत
मध्यपश्चिमाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकायका विद्यार्थीहरुले सात बुँदे माग राख्दै आमरण अनसन बसेका विद्यार्थीहरुले आन्दोलनलाई झनै चर्काएको छन् । उनीहरुको आन्दोलन चर्किएसँगै प्रहरीले आफ्नो दमन नीतिलाई पनि झनै कडा बनाएको छ ।

अनसनमा बसेका विद्यार्थीहरुको स्वास्थ्य अवस्था गम्भिर हुँदासमेत पदाधिकारीले भने कुनै चाँसो देखाएका छैनन् । उता प्रहरी भने विश्वविद्यालय पदाधिकारीहरुको निर्देशनमा विद्यार्थीको आन्दोलनलाई दबाउन निकै कडा रुपमा प्रस्तुत भइरहेको छ । पाँच दिनदेखि आमरण अनसन बसेका तीन जना मध्य रतनकुमार शर्मा र रोशन बस्नेतलाई आइसियूमा राखेर उपचार भइरहेको छ ।
आन्दोलनरत विद्यार्थीहरुलाई वार्ताकालागि बोलाएपनि पदाधिकारी नआएपछि आक्रोसित विद्यार्थीहरुले विश्वविद्यालय परिसरमा नाराजुलुस गरेका छन् । नाराजुलुसमा प्रहरीले लाठी चार्ज गर्दा एक दर्जन बढि विद्यार्थीहरु घाइते भएका छन् । विश्व विद्यालय परिसरमा हतियार सहित पगेका प्रहरीले विद्यार्थी माथि लाठि प्रहार गरेका छन् । प्रहरी विश्वविद्यालय परिसरमै छिरेपछि प्रहरी र विद्यार्थीवीच झडप भएको छ । शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै आन्दोलनरत विद्यार्थीहरु झनै आक्रोसित भएका छन् ।
इन्जिनियरिङ्ग संकायलाई स्वायत्त बनाउनुपर्ने, हाइड्रोपावर इन्जिनियरिङ्गको पुर्ण सेलेबस उपलब्ध गराउनुपर्ने, गोल्डेन चान्स परीक्षाको व्यवस्था गराउनुपर्ने, सम्पुर्ण प्रयोगात्मक कक्षाहरु पुर्ण रुपमा सञ्चालन गर्नुपर्ने, दश प्रतिशत विद्यार्थीहरुलाई पूर्ण छात्रवृति उपलब्ध गराउनुपर्ने, लाइबेरीमा प्रयाप्त पुस्तक उपलब्ध गराउनुका साथै छुट्टै लाइबेरीको व्यवस्था गराउनुपर्ने र सम्पूर्ण विषयको विषयगत शिक्षकको उचित व्यवस्था गर्नुपर्ने विद्यार्थीका मागहरु रहेका छन् । आफ्ना मागप्रति विश्वविद्यालय अनुदार रहेको भन्दै रिले अनशन थालेका विद्यार्थीले वीरेन्द्रनगरस्थित विश्वविद्यालयको केन्द्रिय महाविद्यालयको परिसरमा आमरण अनसन गरेका हुन् । आफ्ना मागहरू क्याम्पस प्रशासनलाई राख्दा पनि बेवास्ता गरी बार्ता नै नगरेको विद्यार्थीहरूको आरोप छ । इन्जिनियरिङ्ग संकायका विद्यार्थीहरु रतनकुमार शर्मा, मिलन बिसी र रोशन बस्नेत आमरण अनशनमा बसेका छन् ।






