Loading... आजः १४ बैशाख २०८३, सोमबार । Monday 27th April 2026
ताजा खबर
  

सञ्चार नीति आफैले निर्माण गर्नुपर्छ : मन्त्री केसी

सुर्खेत
कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले सञ्चार नीति आफैले निर्माण गर्नुपर्ने बताउनु भएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजना तथा कर्णाली प्रदेश समितिको समन्वयमा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सञ्चार नीति र कानून विषयक अन्तरक्रिया कार्यक्रममा उक्त कुरा बताउनु भएको हो । अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै उहाँले भन्नुभयो, ‘विगतमा भएका नकारात्मक परम्परालाई त्यागेर अगाडि बढ्न सके मात्र सञ्चार क्षेत्रको विकास हुन सक्छ । देशले संघीयताको अभ्यास गरिरहेकोले पत्रकारिता क्षेत्रका समस्याहरु हटाएर अगाडि बढ्नुको विकल्प नरहेको छैन ।’ उहाँले थप्नुभयो, सरकारले लगानी गरेको विकास बजेट दुरुपयोग गर्ने अधिकार कसैलाई पनि छैन ।’

कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य करबीर शाहीले प्रदेश सरकारले मिडिया मैत्री नीति र कानून निर्माण गर्नु पर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘मिडिया मैत्री नीति तथा कानून निर्माण भएन भने संसदमा पास नै हुँदैन ।’ यसैगरी कर्णाली प्रदेश सभा सदस्य हिमबहादुर शाहीले भन्नुभयो, ‘प्रदेशको कानून निर्माण गर्दा पत्रकारका समस्या, अप्ठ्यारा लगायत प्रेस स्वतन्त्रतालाई कसरी सुरक्षित गर्ने भन्ने विषयमा व्यापक छलफल गर्ने र त्यसमा प्रतिपक्षको भूमिका निर्वाह गर्दा कुनै कसर बाँकी रहनेछैन ।’

 

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका कोषाध्यक्ष राजेन्द्र मिश्रको सभापत्विमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व कोषाध्यक्ष सूर्यमणी गौतम, केन्द्रिय सदस्य कलेन्द्र सेजुवाल, कर्णाली प्रदेश समितिका अध्यक्ष दुर्गा थापालगायतले आ–आफ्ना भनाई राख्नुभएको थियो ।


यसैगरी नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजना तथा सुर्खेत शाखाको समन्वयमा मिडिया – नागरिक अन्तरक्रिया समेत भएको छ । नागरिकहरुका मिडिया प्रतिका धारणाहरु समेत प्रस्तुत भएको उक्त अन्तरक्रिया कार्यक्रममा अधिवक्ता नन्द भण्डारी, दुर्गा सापकोटा, नागरिक समाजका सितलसिंह राठौर, पवित्रा शाहीलगायत राजनीतिक दलका प्रतिनिधिहरु समेतको सहभागीता रहेको थियो । कार्यक्रम नेपाल पत्रकार महासंघ सुर्खेतका उपाध्यक्ष माया थापाको सभापतित्वमा सम्पन्न भएको थियो भने सहजीकरण कोषाध्यक्ष टेकेनद्र विश्वकर्माले गर्नुभएको थियो ।