Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

असी हजार घुस सहित इन्जिनियर पक्राउ

जाजरकोट
घुस सहित जिल्ला प्राविधिक कार्यालय जाजरकोटका जिल्ला इन्जिनियर अंजय कुमार देवलाई अख्तियारको टोलीले पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले इन्जिनियर देवलाई साना सिंचाइ आयोजनाको कार्य सम्पन्न प्रतिवेदन गराईदिने भन्दै उपभोक्ताबाट लिएको ८० हजार नगद घुस सहित पक्राउ गरिएको अख्तियारका सुचना अधिकारी मेघनाथ सापकोटाले बताए । अख्तियारका प्रहरी नायव उपरीक्षक रविन्द्र खनाल नेतृत्वको टोलीले देवलाई सोमवार विहान उनकै कार्यकक्षबाट पक्राउ गरेको हो । साना सिंचाई आयोजना ( एसआईपी ) अन्र्तगत छेडागाड नगरपालिका ३ फाल्म स्थित बडाखोला कुलो निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष कमला अधिकारीबाट इन्जिनियर देवले उक्त रकम लिएका थिए ।

अख्तियारको टोलीले छापामार्दा उपभोक्ताबाट लिएको रकम देवले आफ्नै कार्यकक्षको दराजको घर्रामा लुकाएर राखेको फेला परेको अनुसन्धान अधिकृत समेत रहेका प्रहरी नायब उपरिक्षक खनालले बताए । उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको खनालले बताए । पक्राउ परेका इन्जिनियर देवलाई सुर्खेत चलान गरिने भएको छ । सप्तरी राजविराज २ स्थायी ठेगाना भएका देव डेढ महिना अघि मात्र जिल्ला प्राविधिक कार्यालय काठ्मान्डौबाट काज सरुवा भएर जाजरकोट आएका थिए । इन्जिनियर देवले योजनाको फरफारक गर्दा घुस लिने गरेको गुनासोको आधारमा छापा मारिएको अख्तियारले जनाएको छ । रकम लेनदेनको कुरा चलेको जानकारी पाएपछि अख्तियार आफैले कोषाध्यक्ष अधिकारी मार्फत नगद ८० हजार रुपैया लिन लगाएको खुलेको छ ।

अख्तियारले आफुलाई फसाएको इन्जिनियर देवको दावी छ । गत बर्ष देखि संचालित उक्त क्रमागत सिंचाई कुलोको जम्मा लागत ४६ लाख रुपैया मध्य गत बर्ष ३१ लाख ५६ हजार रुपैया गत बर्ष नै भुक्तानी भैसकेको थियो । चालु आवमा बाँकी रकम मध्य साना सिंचाई आयोजनाका प्राविधिकले १० लाख १३ हजारको मुल्यांकन गरेका थिए । तर जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर देवले काम सन्तोषजनक नभएको भन्दै ७ लाख ११ हजार रुपैयाको मात्र मुल्यांकन गरेका थिए । आफुले कम मुल्यांकन गरिदिएको झोकमा आफुलाई फसाईएको ईन्जिनियर देवको भनाई छ । गत २१ असारमा नै चेक तयार भैसकेको भएपनि उपभोक्ता समितिले आईतवार चेक लिएका थिए । चेक लिई सकेपछि पैसा बुझाएको पाईएकोले फसाउनकै लागी रकम बुझाएको हुन सक्ने एक कर्मचारीले बताए ।

यद्यपी उक्त रकम कागजमा बनेको देखाईएता पनि अहिले सम्म पानी चल्न नसकेको बताईएको छ । गत बर्ष बनाईएका ३१ आयोजना मध्य अधिकांश सिंचाई कुलो कमिशनको लेनदेनकै कारण पानी चल्न सक्ने अवस्थामा छैनन् । चालु आवमा छुट्याईएको ५ करोड ५३ लाखका २४ सिंचाई आयोजना मध्य ९ वटाको भुक्तानी भैसकेको कार्यालयले जनाएको छ । बाँकी आयोजनाको काम अझै सम्पन्न हुन सकेको छैन । साना सिंचाई आयोजनाका काम गुणस्तरीय नभएको गुनासो आइरहेको छ ।