शिव महापुराण श्रावण महोत्सव हुने
सुर्खेत
सुर्खेतको लाटीकोइली शिव मन्दिरमा शिव महापुराण श्रावण महोत्सव हुने भएको छ । यही श्रावण ७ देखि १७ गतेसम्म १० दिन संचालन हुने उक्त शिव महापुराण श्रावण महोत्सवका मूल आयोजक समितिका अध्यक्ष ध्रुबकुमार श्रेष्ठले जानकारी दिनु भयो । श्री सम्मत् १६३९ मा बनेको तथ्य रहेको लाटीकोइली शिव मन्दिर प्रताप शाहीको शासन कालमा निर्माण भएको एक जीवित मन्दिरको रुपमा चिनिन्छ ।
वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा शिव महापुराण श्रावण महोत्सव बारे जानकारी दिने क्रममा अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘करिब १ करोड दान उठाउने लक्ष्य राखिएको छ भने ३ हजार स्फटिक शिवयन्त्र वितरण गर्ने लक्ष्य समेत राखिएको छ । उहाँले भन्नुभयो, विभिन्न व्यक्तिदेखि संघसंस्था र स्थानीय तहबाट समेत सहयोगको अपेक्षा गरेका छौ ।’
श्रावण महोत्सवबाट भएको आम्दानीले मन्दिरको गेटको निर्माण, पर्खाल लगाउने, साधुहरुको लागि व्यवस्थापन गर्ने र बचत रकम दैनिक पूजाआजाको खर्चको लागि अक्षयकोषमा जम्मा गरिने अध्यक्ष श्रेष्ठको भनाई थियो । परम्परा, संस्कृति, ऐतिहासिकता र धर्मलाई एकैसाथ संरक्षण र सम्बद्र्धन गर्दै आधुनिकतासँग जोडेर पर्यटकीय विकास गर्न सकिने भएकोले यस्ता मेला महोत्सवहरुको आवश्यकता रहेको श्रेष्ठले बताउनु भयो । २० लाख भन्दा बढि खर्च नगर्ने लक्ष्य राखिएको उत्सवमा गोविन्द शरण महाराज संकल्पकर्ता रहनु भएको छ भने नारायण न्यौपाने वाचकको रुपमा रहनु भएको आयोजक समितिले जनाएको छ ।







