महोत्सवका लागि विभिन्न उपसमिति गठन
३० असार, सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर ९ लाटीकोइली स्थित ऐतिहासिक शिव मन्दिरमा संचालन हुन लागेको शिव महापुराण, श्रावण मेला लाटीकोइली सुर्खेत धार्मिक शिव महामहोत्सव २०७५ लाई सफल बनाउनकालागि आज विभिन्न उपसमितिहरु गठन गरिएको छ । लाटीकोइली स्थित ऐतिहासिक शिव मन्दिरलाई प्रदेशकै समृद्ध र स्मार्ट बनाउनका लागि शिव महोत्सवको आयोजना गरिएको महोत्सव आयोजक मुल समारोह समितिका अध्यक्ष ध्रुवकुमार श्रेष्ठले बताए । महोत्सवको श्री गोविन्द शरण महाराज जी मार्गदर्शक तथा संकल्पकर्ता हुनुहुन्छ भने श्री नारायण न्यौपानेले कथा वाचन गर्ने जनाइएको छ ।

त्यस्तै महोत्सव अवधिभर विहान ५ बजे देखि ७ बजे सम्म योग विज्ञान शिविर, ७ बजे देखि ८ बजे सम्म पुजा, ८ बजेदेखि पाठ परायण, १० बजेदेखि दिउँसो ४ बजे सम्म कथा, प्रवचन, झाँकी प्रदर्शन गरिने, साँझ ७ बजे राती १० बजे सम्म भजन किर्तन कथा प्रवचन तथा प्रत्येक दिन विहान ६ बजेदेखि ७ बजे सम्म शालिग्राम भगवानको पुजाअर्चना तथा परिक्रममा गरिने अध्यक्ष श्रेष्ठले बताए । महोत्सवको शुभारम्भ श्रावण ७ गते विशाल कलश यात्रा सहित शुरु हुने शोभा यात्रामा सम्पूर्ण नगरबासी सहभागी हुन ९ नं. वडा अध्यक्ष सुरेश मानन्धरले आग्रह गरे ।






