Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

सशस्त्र प्रहरी सीमा सुरक्षाको अर्थहिन चौलिक्का चेकपोष्ट

 नेपालगन्ज, ११ साउन –

सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयले स्थापना गरेको सशस्त्र प्रहरी चेक पोष्ट अहिले अर्थहिन रुपमा परिणत हुन लागेको अधिकांशले बताउने गरेका छन् ।

भन्सार कार्यालयमा राजस्व नबुझाई फुत्किने समूह तथा अवैध सामानको चेकजाँच लगायतको लागि सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयले स्थापना गरेको चौलिक्का चेक पोष्ट अर्थहिनको रुपमा परिणत हुनुको साथै त्यहाँ खटिएका सशस्त्र प्रहरी सानो चौकी भवनमा भलाकुसारी गर्ने थलोमा परिणत हुन लागेको जानकारहरुले बताएका छन् । उक्त चेक पोष्टमा खटिएका सशस्त्र प्रहरीका सुरक्षाकर्मी आफ्नो खुशी अनुसार फुटकर सामान चेकजाँच गर्ने अनि छाड्ने तथा आफु खुशी नगर बसलाई रोकी हेरे जस्तो गर्ने बाहेक केही गर्ने नगरेको पाइएको छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयका प्रमुख सशस्त्र प्रहरी उपरिक्षकले कडा चेकजाँच लगायतका कार्य गर्नको लागि २४सैं घण्टा ड्यूटीमा खटाइएको बताएपनि अहिलेसम्म कुनै उपलब्धीमूलक कार्य भने गरेको देखिएको छैन ।

भन्सार कार्यालयको दुई वटा गेटबाट छली गरी फुटकर रुपमा आयात भएका सामानको विषयमा त्यहाँ ड्यूटीमा खटिएका सशस्त्र प्रहरीले कुनै चेकजाँच तथा भन्सार कार्यालयको प्रज्ञापन पत्र समेत नहेर्ने गरेको पाइएको छ । स्मरण रहोस् केही वर्ष पुर्व भन्सार छली गरी आउने यस्ता फुटकर व्यापारीको सामानमा चौलिक्कामा खटिएका सशस्त्र प्रहरीले कडा चेकजाँच गर्नुका साथै प्रज्ञापन पत्र नहुने सामान जफत गरी भन्सार कार्यालय बुझाइ लिलाम गरिन्थ्यो । अहिले २ वर्षदेखि चौलिक्कामा खटिएका सशस्त्र प्रहरीको आफुखुशी कार्य गर्ने भएकोले भन्सार छली गर्ने गिरोह सक्रिय हुँदै भन्सार छल्ने कार्यमा बृद्धि भएको बताइएको छ । सशस्त्र प्रहरी बलको चौलिक्का चेकपोष्टले भन्सार नाकाबाट फुत्किएका सामान कडा चेकजाँच हुन्छ भन्नेमा भन्सार कार्यालय ढुक्क छ भने यता भने सशस्त्र प्रहरीको यो चेकपोष्ट वास्ता नहुँदा सरकारी राजस्वमा गिरावट आउने क्रम भने रोकिएको छैन । सुर्खेतस्थित सशस्त्र प्रहरी बल क्षेत्रीय कार्यालयका प्रमुख एवम् डिआईजी राजु सुवाल निरिक्षण क्रममा हुने क्रममा पहिले नै सूचना पाउने भएकाले उक्त समयमा ड्यूटीमा खटिएका सबै सर्तक हुने गरेको तथा अन्य समयमा आफुखुशी गर्ने गरेको पाइएको छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयले स्थापना गरेका चेक पोष्ट र खटाइएका सुरक्षाकर्मीले सुस्त अवस्थामा रहेको भन्ने समाचार विभिन्न मिडियामा आएपछि शुक्रबारदेखि त्यहाँ ड्यूटीमा खटिएका सुरक्षाकर्मीले पत्रकारलाई तेस्रो नजरले समेत हेर्न शुरु गरेको पाइएको छ । नेपालगन्जमा दैनिक भारतबाट अवैध रुपमा १० देखि १५ टन ब्वाइलर कुखुरा आयात हुने गरेको कुरा पटकपटक सार्वजनिक हुँदा पनि सीमामा खटिएका सशस्त्र प्रहरीका यी समूहले अहिलेसम्म खासै काम गरेको देखिएको छैन ।