शहिद स्मृतिमा सप्ताहव्यापी कार्यक्रम हुँदै
सुर्खेत, १८ श्रावण ।
कर्णाली प्रदेश स्थापनाका लागि शहादत प्राप्त गरेका शहिदहरुको सम्झनामा सप्ताहव्यापी कार्यक्रमको आयोजना गरिएको छ । शहिद यामबहादुर बिसीको नामबाट संचालन गरिएको याम बिसी स्मृति प्रतिष्ठानले शहिदहरुको सम्झनामा गर्ने सप्ताहव्यापी कार्यक्रम अन्तर्गत शनिबार (आज) बिहान ७ बजे पिपलचौतारीमा रक्तदान कार्यक्रम, श्रावण २० गते क्षेत्रीय अस्पताल कालागाउँमा अस्पताललाई आवश्यक सामग्रीहरु हस्तान्तरण दिउँसो ३ बजे, २१ गते देउती बज्यै सामुदायिक वनको चारकुनेमा बृक्षारोपण बिहान ७ बजे , २२ गते शहिद याम बहादुर बिसीको पिताको नीजि निवासमा दृष्टिबिहिनहरुलाई भोजन साँझ ५ बजे, २३ गते अमर ज्योति उमावि नेवारेमा उमावि अन्तरसदनात्मक वक्तृत्वकला प्रतियोगीता विहान ७ बजे, २४ गते कृष्ण संस्कृत साधारण उमावि इत्राममा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण बिहान ११ बजे र २५ गते जिल्ला समन्व समितिको सभाहलमा तेस्रो शहिद स्मृति दिवस मनाउने कार्यक्रम रहेको प्रतिष्ठानका सचिव भगवती विसीले जानकारी दिए । शहिद याम बिसी स्मृति प्रतिष्ठान सुर्खेतले सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेको जनाएको छ ।
नेपाललाई संघीय संरचनामा लैजाने क्रममा सिमाङ्कन गर्दा तत्कालिन मध्यपश्चिमलाई सुदुरपश्चिममा गाभेर यस क्षेत्रका जनता प्रति सरकारले अन्याय गरेको भन्दै छुट्टै प्रदेशको आन्दोलन भएको थियो । उक्त आन्दोलनमा सुर्खेतका याम बहादुर बिसी, टीकाराम गौतम र गोपालसिं रजवार तथा जुम्लाका हरिबहादुर कँुवरले ज्यान गुमाएका थिए । नेपाल सरकारले उनीहरुलाई शहिद घोषणा गरेपनि त्यो भन्दा अरु केही गर्न नसकेको शहिद परिवारहरु गुनासो गर्दै आइरहेका छन् ।






