Loading... आजः १९ आश्विन २०८३, सोमबार । Monday 5th October 2026

शहिदको सम्झनामा बृक्षारोपण

सुर्खेत
२१ श्रावण

कर्णाली प्रदेश स्थापनाका लागि आफ्नो प्राणको बलिदानी दिने शहिदको सम्झनामा देउती बज्यै सामुदायिक वनको चारकुनेमा बृक्षारोपण गरिएको छ । याम बिसी स्मृति प्रतिष्ठानको आयोजनामा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज (सोमबार) बृक्षारोपण कार्यक्रमको आयोजना गरिएको हो ।

बृक्षारोपण कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य पदमा खड्काले प्रमुख अतिथिको रुपमा बोल्दै तत्कालिन समयमा भएको आन्दोलनमा चार जना सपुतहरुले दिएको बलिदानीका कारण आज कर्णाली प्रदेश भएको बताउनु भयो । उहाँले भन्नुभयो, हामी शहिदको सपना साकार पार्छौ । यो हाम्रो जिम्मेवारी र कर्तव्य दुबै हो । शहिद परिवारले शोकलाई शक्तिमा बदलेर रचनात्मक कार्यहरु गर्नु भनेको कर्णाली प्रदेशलाई समृद्धि तर्फ लैजाने शुरुवाती भएको उहाँको भनाइ थियो ।

 

वन भएपछि जीवन हुन्छ भन्ने मान्यतालाई सर्वोपरी ठान्नु पर्ने बताउँदै प्रमुख अतिथि खड्काले भन्नुभयो, हामीले शहिदको सपनालाई साकार पार्नका लागि वर्षको एक दिन शहिद दिवस मनाउनु भन्दा पनि उनीहरुले देखाएको बाटोलाई अंगिकार गर्नु पर्दछ । शोकमा डुबेर केही हुँदैन शोकलाई शक्तिमा बदल्न सक्नु पर्छ जुन कार्य याम बिसी स्मृति प्रतिष्ठानले शुरुवात गरेको छ ।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ का वडाअध्यक्ष नन्दलाल शर्माले शहिदको रगतले सिंचित कर्णाली प्रदेशलाई समृद्धि तर्फ लैजान सबैले पहल गर्नु पर्ने र आफूले गर्नु पर्ने कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।


बृक्षारोपण गर्ने क्रममा देउती बज्यै सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दीपा शर्माले भन्नुभयो, सामुदायिक वनको विकासका लागि याम बिसी स्मृति प्रतिष्ठानले बृक्षारोपणको आयोजना गरेकोमा प्रतिष्ठानलाई धन्यवाद दिँदै शहिदको सम्झनामा रोपिएका विरुवाहरुलाई जोगाउनु र हुर्काउनु सबै उपभोक्ताहरुको दायित्व हो ।

 

वीरेन्द्रनगर नगरपालिकाको सहयोगमा इलाका वन कार्यालयले उपलब्ध गराएका बकाइनो, बेल, खयर लगायतका १ सय ५० भन्दा बढि विरुवाहरु बृक्षारोपण गरिएको छ । बृक्षारोपण कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिँदै शहिद याम बिसी स्मृति प्रतिष्ठानका अध्यक्ष शेर बहादुर बुढाले यस कार्यलाई निरन्तरता दिने बताउनु भयो ।