भेरी समौझीघाटलाई स्मार्ट आर्यघाटका रुपमा विकसित गरिने
सुर्खेत
सुर्खेतको भेरी समौझीघाट दाहसंस्कार स्थललाई नेपालकै सुविधा सम्पन्न स्मार्ट आर्यघाटका रुपमा विकसित गर्ने पहल शुरु भएको छ ।
सुर्खेत उपत्यका नगर विकास समितिको पहलमा आज वीरेन्द्रनगरमा भएको सर्वपक्षीय छलफलमा स्मार्ट आर्यघाट निर्माणका लागि रकम संकलन गर्न भेरी किनारमै पितृमोक्ष महाकुम्भ धार्मिक मेला सञ्चालन गर्ने निधो भएको छ । कम्तिमा २० देखि २५ करोड रुपैयाँको लागतमा भेरी किनारमा विद्युतीय शव दाह यन्त्रसहितको किरियापूर्ति कक्ष, श्राद्ध तथा पिण्ड तर्पण स्थल, शुद्ध शाकाहारी भोजनालयलगायतका आवश्यक संरचना निर्माण गर्ने योजना बनाइएको छ ।
त्यसका लागि आवश्यक रकम जोहो गर्न सम्भव भए आगामी असोज महिनामा भेरी किनारमा पितृमोष महाकुम्भ धार्मिक मेला सञ्चाल गर्ने योजना संकल्पकर्ता गोविन्द शरणले अघि सार्नुभएको हो । उक्त धार्मिक मेलामा श्राद्ध, तर्पण, लाखबत्ति, व्रतवन्धलगायत अन्य पूजाआजा गरिने बताउँदै उहाँले अब उपयुक्त स्थान र समय हेरी कार्य आरम्भ गरिने जानकारी दिनुभयो ।
उक्त धार्मिक मेला सञ्चालनका लागि आपूmले एक रुपैयाँ पनि नलिने उद्घोष गर्दै उहाँले बरु मेलाका लागि आवश्यक विजुली बत्ति, टेन्टपण्डाल, साउण्ड सिष्टमलगायत २५ लाख रुपैयाँ बराबरको व्यवस्थापकीय खर्च आफै व्यहोर्ने प्रतिवद्धतापनि उहाँले जनाउनु भएको छ ।
अहिले भेरीमा दाहसंस्कारका लागि अनेकौं कठिनाई भोग्नुपरिरहेको भन्दै उहाँले पितृआत्मको मोक्ष र शान्तिका लागि पनि अत्याधुनिक आर्यघाट आवश्यक रहेको औंल्याउनुभयो । सुर्खेतमा विश्वविद्यालयपछिकै सबैभन्दा ठूलो योजना हुने जिकिर गर्दै उहाँले यो योजना महत्वाकांक्षी भएपनि असम्भव भने नभएको दाबी गर्नुभयो । सुर्खेती जनता निकै उदारमना भएको उल्लेख गर्दै उहाँले हालै मात्र लाटीकोइलीमा सम्पन्न श्रावण महामेलामा १ करोडभन्दा बढि रकम नगदै उठ्नु त्यसैको उदाहारण भएको तर्क गर्नुभयो ।
जिल्ला समन्वय समितिका संयोजक छविलाल सिग्देलले नागरिकस्तरबाट शुरु गरिने यस्ता महत्वपूर्ण आयोजनामा आप्mनो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा वीरेन्द्रनगर ५ वडाध्यक्ष राजबहादुर गुरुंगले विद्यमान सांस्कृतिक तथा धार्मिक विविधताको सम्मान हुने गरी सबै धर्मावलम्वीहरुलाई उपयुक्त हुने किसिमको आर्यघाट स्थापना गर्न सुझाव दिनुभयो ।
अधिवक्ता ध्रुवकुमार श्रेष्ठले विद्युतीय शवदाह यन्त्रसहितको स्मार्ट आर्यघाट निर्माण गर्न सकिए वन जंगलको विनाश तथा वातावरणीय प्रदूषणलाई नियन्त्रण गर्न सकिने जिकिर गर्नुभयो ।
यसैगरी सुर्खेत उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष धनबहादुर रावतले विशुद्ध रुपमा धार्मिक तथा सांस्कृतिक प्रयोजनका लागि गरिने विकास निर्माणमा आप्mनो व्यक्तिगत र संस्थागत सहयोग रहने प्रतिवद्धता जनाउनुभयो ।
शिवशक्ति सामुदायिक वनकी अध्यक्ष मानकुमार आचार्यले दाहसंस्कारका लागि काठदाउराको खपत बढिरहेको भन्दै त्यसको बचतका लागि पनि स्मार्ट आर्यघाट बनाउने कार्यमा आप्mनो सहयोग रहने प्रतिवद्धता जनाउनुभयो ।






