Loading... आजः १४ बैशाख २०८३, सोमबार । Monday 27th April 2026
ताजा खबर
  

शहिद परिवारले सोधे : निर्णय कार्यान्वयन कहिले हुन्छ

२५ श्रावण २०७५
सुर्खेत
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री एवम् कर्णाली प्रदेश सरकारका प्रवक्ता बिमला केसीले शहिद परिवारले हिनताबोध गर्नु नपरोस् भन्ने धारणा राख्नु भएको छ । कर्णाली प्रदेश स्थापनाका लागि शहादत प्राप्त गरेका चार जना शहिदहरुको सम्झनामा याम बि सी स्मृति प्रतिष्ठानले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन तेस्रो शहिद स्मृति दिवस कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै उहाँले यस्तो बताउनु भएको हो । परिवारको सदस्यले शहादत प्राप्त गरेको तर शहिदको सम्मान हुन नसकेको भनेर कुनै पनि शहिद परिवारले हिनताबोध गर्नु नपर्ने गरी प्रदेश सरकारले काम गर्ने मन्त्री केसीले प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।


प्रदेश आन्दोलनको समयमा शहादत प्राप्त गरेका शहिदहरुको नाममा पार्कको स्थापना गर्न र उनीहरुको सालिक निर्माण गर्नका लागि प्रदेश सरकारले बजेटसमेत विनियोजन गरेको मन्त्री केसीको भनाई थियो । प्रदेशबाट गरिबी घटाउन र हटाउनको लागि रोजगारीको सिर्जना गर्ने कार्यक्रमहरु बनाइरहेकोले शहिद परिवारसँग आन्दोलनको समयमा भएका निर्णयहरु कार्यान्वयन गर्न कुनै समस्या नरहेको उहाँले बताउनु भयो । कर्णाली प्रदेश सरकार यस प्रदेशका बासिन्दाहरुलाई उत्पादनको क्षेत्रमा लाग्ने तर्फ प्रोत्साहन गर्दै अगाडि बढ्न तयार रहेको उहाँको भनाई थियो । साथै शहिद परिवारले राखेका मागहरु पूरा गर्ने प्रतिवद्धता गर्दै मन्त्री केसीले प्रदेश निर्माणमा सबै प्रदेशबासीहरु जुट्न आग्रह गर्नुभयो ।


शहिद स्मृति दिवस कार्यक्रममा शहिद परिवारको तर्फबाट बोल्दै याम बिसी स्मृति प्रतिष्ठानका सचिव भगवती बिसीले भन्नुभयो, कर्णाली त्यसै कर्णाली भएको होइन । यसलाई कर्णाली बनाउनका लागि ४ जना सपुतहरुले आफ्नो रगतले सिंचित गर्नु परेको थियो । जुन घटना तपाइ हामी सबैको मानसपटलमा अहिले पनि ताजै छ । हो हामी शहिद परिवारहरुले आफ्नो परिवारका सदस्य गुमायौ । ठूलो चोट र शोक प¥यो । तर शोकमा डुबेर बसिरहने हो भने शहिदले देखेको सपना पूरा हुन सक्दैन । अब शोकलाई शक्तिमा बदलेर शहिदको सपनालाई साकार पार्नका लागि हामी एक भएर लाग्नु पर्ने समय आइसकेको छ । उहाँले कार्यक्रमका प्रमुख अतिथि एवम् कर्णाली प्रदेश सरकारका प्रवक्ता मन्त्री केसीको ध्यानाकर्षण गर्दै भन्नुभयो, आन्दोलनसँगै विभिन्न राजनीतिक दल र नागरिक समाजले शहिद परिवारसँग गरेका सम्झौताहरु अहिलेसम्म पूरा भएका छैनन् । उहाँको प्रश्न थियो, कहिले पूरा हुन्छन् ती निर्णयहरु ? तर जसको रगतले बनेको छ कर्णाली त्यही कर्णालीमा विभिन्न पद, शक्ति र सत्तामा रहेर बसिरहेका छौ हामी तर पनि शहिदको सम्झनामा कहिँ कतैबाट कोही कसैले केही गर्न खोजेको जस्तो लागेन । त्यसैले शहिद परिवार कनि कुथी ती वीर योद्धाको अनुहारलाई आँखामा राख्दै बाध्य भएर अगाडि बढ्नुको विकल्प रहेन । निर्विवाद रुपमा कर्णाली नामाकरण गर्ने, सुर्खेतलाई राजधानीको रुपमा स्थापित गर्ने अन्य प्रदेशको दाँजोमा एक कदम अगाडि भएको कर्णाली प्रदेश सरकारले खै अहिलेसम्म शहिदको नाममा चोकको नामाकरण गरेको ? खै शहिद पार्कको निर्माण कार्य शुरु गरेको ? खै शहिदका सालिकहरुको निर्माण कार्यलाई अगाडि बढाएको ? त्यति बेला गरिएका निर्णयहरुलाई खै अक्षरस कार्यान्वय गरेको ? शहिदको सपनालाई साकार पार्न एक दिन उनीहरुको फोटोमा माल्यार्पण गरेर मात्र पुग्दैन । जबसम्म कर्णाली प्रदेश समृद्धिको प्रदेशको रुपमा अंकित हुँदैन तबसम्म शहिदले देखेको सपना पूरा भएको मान्न नसकिने उहाँको भनाई थियो । सचिव बिसीले आग्रह गर्नुभयो स्थानीय सरकारदेखि प्रदेश सरकार र संघीय सरकारले समेत शहिदको सम्झनामा गर्नु पर्ने काममा ढिलाई नगरोस् ।


कार्यक्रममा कर्णाली उद्योग वाणिज्य संघका अध्यक्ष पदमबहादुर शाहीले कर्णाली प्रदेश आन्दोलनको समयको स्मरण गर्दै उनीहरुले देखेको सपना पूरा गर्नका लागि सरकार, नागरिक समाज र शहिद परिवार सबैले लक्ष्य र उद्देश्यका साथ अगाडि बढ्नु पर्ने बताउनु भयो । उहाँले भन्नुभयो, शहिद परिवारसँग भएका निर्णयहरु अहिलेसम्म कार्यान्वयन नहुनु शहिदको सम्मान नहुनु हो । यस प्रदेशका सबै सरकारी कार्यालयमा शहिदको तस्वीर राखेर शहिदको सम्मानको शुरुवात गर्नु पर्ने उहाँको भनाई थियो । सुर्खेत स्थित राजनीतिक दलहरुको तर्फबाट नेपाली काँग्रेसका कोषाध्यक्ष अनन्त पौडेलले राजनीतिक रुपमा सहमति गरेका निर्णयहरु कार्यान्वयन गर्नु पर्ने बताउनु भएको थियो ।


कार्यक्रममा बागिना समूहका कलाकारहरुले संस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । शहिद स्मृति दिवसमा वीरेन्द्रनगर नगरपालिका उपप्रमुख मोहनमाया ढकाल, वीरेन्द्रनगर नगरपालिकाका वडाअध्यक्ष नन्दलाल शर्मा, निलकण्ड खनाल, जिल्ला समन्वय समिति सुर्खेतका संयोजक छविलाल सिग्देल, प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मोहनकुमार आचार्य, जिल्ला ट्राफिक कार्यालयका प्रहरी निरीक्षक कवि सेञ्चुरी, सुर्खेत स्थित राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिहरु, क्यान सुर्खेतका अध्यक्ष प्रेमप्रकाश चन्दलगायतको उपस्थिति रहेको थियो । याम बिसी स्मृति प्रतिष्ठानका अध्यक्ष शेरबहादुर बुढाको सभापतित्वमा भएको कार्यक्रमको सहजीकरण दीपा गाहाले गर्नुभएको थियो ।