जेहेन्दार बालबालिकालाई शैक्षिक सामग्री वितरण
सुर्खेत ।
कर्णाली प्रदेश स्थापनाका लागि शदाहत प्राप्त गरेका शहिदहरुको सम्झनामा श्रीकृष्ण संस्कृत तथा साधारण उमावि इत्राममा अध्ययनरत १० जना बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

विद्यालयसँगको सहकार्यमा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको बताइएको छ । शैक्षिक सामग्री वितरण कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका वडा नं. ८ का वडाअध्यक्ष धु्रब चपाईले शहिदले देखेको सपना कर्णाली प्रदेशको स्थापनाले मात्र पूरा नभएको बताए । शहिदले देखेको सपना पूरा गर्नका लागि प्रदेशलाई समृद्ध बनाउनु पर्ने उनको भनाई थियो । केवल नारामा मात्र समृद्धिको भनेर प्रदेश समृद्ध नहुने भएकोले सबैले व्यवहारमा परिवर्तन गरेर प्रदेशलाई आर्थिक, भौतिक एवम् सामाजिक रुपमा समेत समृद्ध बनाउनु पर्ने उनको भनाई थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापकले गरिब परिवारमा जन्मेका बालबालिकाहरुको पढ्न पाउने अधिकारको सुनिश्चितता गर्नका लागि राज्यले नै ध्यान दिनु पर्ने बताउँदै यसरी संघ संस्थाको तर्फबाट वितरण गरिने शैक्षिक सामग्रीहरुले उनीहरुका आवश्यकतालाई केही हदसम्म भएपनि परिपूर्ति गर्न सहयोग मिल्ने बताए ।







