साहित्यको कुनै सीमा र परिधि हुँदैन : भरत
दैलेख जिल्लाको दुल्लु नगरपालिका वडा नं. १२ दहमा पिता नेत्रमणी र माता खगिसरा दाहालको प्रथम सन्तानको रुपमा जन्मनुभएको हो भरत प्रमोद दाहाल । सानैदेखि चकचके स्वभावका भरत पढाईमा भने तिक्ष्य हुनुहुन्थ्यो । देवी उच्च माध्यमिक विद्यालयबाट एसएलसी पास गरेपछि जनउच्च मावि सुर्खेतबाट विज्ञान विषयको अध्ययन गर्नुभएका दाहाल हाल मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतमा इन्जिनियरिङ्गको आठौ सेमेष्टरमा अध्ययनरत हुनुहुन्छ । भविष्यमा इन्जिनियर बन्ने लक्ष्यका साथ शैक्षिक योग्यता हासिलमा लाग्नु भएका दाहाल नेपाली साहित्यको गजल विधामा निकै अब्बल मानिनु हुन्छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय साहित्य समाजको अध्यक्ष पदमा रहेर विश्वविद्यालयमा साहित्यिक गतिविधिहरु गरिरहनु भएका दाहालका गजल मात्र नभई कविताहरु पनि उत्कृष्ट मानिन्छन् । थुप्रै महफिलमा आफ्ना स्रोताहरुलाई मन्त्रमुग्घ पारिसक्नु भएका दाहालसँग क्वीकखबर डटकमका लागि खगेन्द्र अधिकारी ‘अमृत’ले साहित्यिक क्षेत्रको पेरिफेरीमा रहेर गरिएको कुराकानी :
तपाई विज्ञान तथा प्रविधिको विद्यार्थी कसरी लाग्नु भयो साहित्य तर्फ ?
साहित्य भनेको एउटा साहित्यकारको मनमा उब्जिने एउटा कौतुहलता हो । यसको कुनै सीमा र परिधि हुँदैन । मस्तिष्कबाट उब्जिएका तरंगहरुलाई भावमा परिणत गर्दै सिर्जनात्मक तरिकाले पाठक तथा स्रोताको मनसम्म पुग्नलाई प्रविधि र विज्ञानले कुनै बाधा पु¥याउँदैन । प्रविधि र विज्ञान भित्र पनि अथाह साहित्य छ । त्यसलाई कसले टिप्न सक्यो कसले टिप्न सकेन भन्ने मात्र हो । भनिन्छ मान्छे जीवनमा एक पटक कवि बन्छ त्यति मात्र होइन अबको युग भनेको जो सुकै मान्छे पनि जीवनमा एउटा गजलकार बन्छ भन्ने बेला आइ सक्यो । त्यही समयले मलाई पनि अछुतो छोडेन । जसका कारण म साहित्यमा लागे ।
विज्ञान प्रविधिका सुत्रहरुसँग खेल्दा आनन्द आउँछ वा गजलका शेरहरुसँग बहकिदा ?
अवश्य पनि गजलका शेरहरुले जति आनन्द दिन्छन् । त्यति विज्ञान र प्रविधिका सुत्रहरुले आनन्द दिँदैनन् । विज्ञान र प्रविधि मेरो रहर थिएन बाध्यता थियो । किन भने मेरो ह्दय भनेको कवि ह्दय हो । एकदम दुःखमा मलाई अहिलेसम्म विज्ञानको सुत्रले काम गरेन । जब म कसैबाट केही पाउँ भन्ने आशा गर्थे तब मलाई गजल र कविताले साथ दिए । गजल र कविताका शेर र हरफहरुसँग म आफ्नो दुःखलाई साट्न सक्ने भएँ । यसकारण गजलका शेरहरु प्रिय लाग्छन् । विज्ञान भनेको जीवनमा आवश्यकताको रुपमा आएको छ । त्यसलाई आवश्यकतासँग जोडेर प्रयोग गर्नु पर्छ । आजको युगमा मान्छे विज्ञान र प्रविधिबाट अछुतो रहन सक्दैन । मान्छेले प्रत्येक पल विज्ञान र प्रविधिलाई प्रयोग गरेर बाँचेको छ । तर त्यही विज्ञानले असम्भव देखेको कुरा भित्र मेरा गजलले सम्भव देखिदिन्छन् । अब तपाई नै भनिदिनुहोस् म विज्ञानसँग वा प्रविधिसँग या त गजलका शेरहरुसँग बहकिन्छु ?
भविष्यमा भरत प्रमोद सफल इन्जिनियर वा असल साहित्यकार ?
मैले जीवनमा दुईवटा लक्ष्य बोकेको छु । तपाईसँग गरिएका यी भलाकुसारीका शब्दहरु मेरा पाठकले पढिरहँदा अचम्म लाग्न सक्छ । जीवन सफल बनाउनका लागि एउटा मात्र लक्ष्य बोक्नु पर्छ अरे । तर मलाई थाह छैन म सफल बन्न सक्छु या सक्दिन । किनकी मैले दुईटा लक्ष्य बोकेको छु । यसको फैसला समयले नै गर्ला । मैले समयकै जिम्मामा छोडिदिएको छु । एउटा सफल इन्जियनियर अनि एउटा असल साहित्यकार बन्ने यी दुईवटा लक्ष्य पूरा गर्नका लागि मैले पाइलाहरु अघि बढाइरहँदा म आफैपनि कहाँ छु मलाई नै थाह छैन । विश्वको इतिहासलाई हेर्ने हो भने महान दार्शनिकहरु पनि विज्ञान पढ्दै गर्दा ठूला साहित्यकार बनेका छन् । अनि अर्को कुरा के भन्न चाहान्छु भने विज्ञान पढेको मान्छेले साहित्यलाई माया नगर्ने, लेखा पढेको मान्छेले साहित्यलाई माया नगर्ने अनि नेपाली साहित्य पढेका मान्छेले मात्रै भाषा र साहित्यलाई माया गर्ने हुँदैन । औषधि विज्ञान पढेकाहरुले लेखेका गजल कविताले अधिकांश पाठकको मन जित्न सफल भएका छन् । उदाहरणको रुपमा लिन सकिन्छ, डा. भोला रिजाल, डा. निरज भट्टराई, डा. रविन्द समिरका रचनाहरुले देश तथा विदेशमा रहेका पाठकहरुको मन जितेका छन् । म सफल इन्जिनियर र असल साहित्यकार बन्ने कोसिस मात्र गर्न सक्छु तर मलाई सफल र असल मेरो कार्य र मेरा पाठकहरुको मनले बनाउने छ ।
विश्वविद्यालयमा भएको साहित्य समाजको बारेमा भनिदिनु होस् न ।
विश्वविद्यालय भनेको विश्वका विद्यार्थीहरुलाई ज्ञान दिन सक्ने र अध्ययन अनुसन्धानमा अब्बल बनाउने स्थान हो । छिमेकी देशमा भएका विश्वविद्यालयलाई हेर्ने हो भने त्यहाँ विभिन्न क्लब, सदनदेखि संस्थाहरु सम्म वैधानिक रपमा दर्ता गरेर खोज अनुसन्धानको कार्य गराइएको हुन्छ । तर हामीमा विश्वविद्यालय भनेको केवल शैक्षिक प्रमाण पत्र प्राप्त गर्ने थलोका रुपमा हेरिरहेका छौ । अनि विश्वविद्यालयले पनि एकोहोरो घोकन्ते विधामा नै जोड दिइरहेको छ । हुन त हाम्रो विश्वविद्यालय शिशु अवस्थामा नै छ । यद्यपी विश्वविद्यालयले हरेक प्रकारका खोज अनुसन्धान र हरेक प्रकार खोज अनुसन्धान र चौतारीका रुपमा हुनु पर्ने हो त्यसो हुन नसकिरहेको अवस्थामा हामीले साहित्यको विकास गर्ने हेतुले २०७४ पौष १३ गते यस संस्थाको स्थापना गरेका थियौ ।
कस्ता लक्ष्य र उद्देश्यहरु राख्नु भएको थियो यो स्थापना गर्दा अनि प्राप्तिहरु के के भए ?
मैले भनिसके, विश्वविद्यालय भनेको अध्ययन र अध्यापनको केन्द्र मात्र नभएर हरेक प्रकारका रचनात्मक क्रियाकलापको चौतारी हुनु पर्छ भनेर । विश्वविद्यालयमा हरेक प्रकारका विद्यार्थीहरु अध्ययनरत छन् । साहित्य, राजनीति, विज्ञान तथा प्रविधि, शिक्षा जस्ता हरेक विधामा साहित्य छ । त्यसलाई उजागर गर्नका लागि स्थापना भएको मध्यपश्चिमाञ्चल विश्वविद्यालय साहित्य समाजले स्थापना कालको १ महिनामा काव्य श्रृङ्खला ‘क’ बाट आफ्नो यात्राको प्रारम्भ भयो । स्थापनाको सातौं महिनासम्म आइपुग्दा हामीले ३ वटा महफिलहरु गर्न सफल भएका छौ । यो कार्य श्रृङ्खलावद्ध रुपमा अगाडि बढ्ने भएकोले पनि यसले केवल संस्थागत रुपमा मात्र होइन व्यवहारिक रुपमा नै साहित्य प्रेमीहरुका माझमा केही दिन सकेको छ जस्तो मलाई लागेको छ । सिमित स्रोत साधनका बाबजुद पनि हामीले जुन कार्य गरेका छौ त्यो वर्तमानको कर्णाली प्रदेशमा मात्र होइन नेपाली साहित्यकै क्षेत्रमा एउटा इँटा थपिएको साहित्य प्रेमीहरुले अनुभव गरिरहेका छन् भने हामीले त्यसलाई स्पर्श गरेका छौ ।
साहित्यिक क्षेत्रमा पनि रंग र भेदहरु छन् रे नि । कत्तिको सहयोग र असहयोगको समाना गर्नु परेको छ यहाँले ?
अहिलेको नेपाली समाज उपभोक्तावादी चिन्तनले ग्रसित छ । हरेक कुरालाई मानिसले स्वार्थसँग जोडेको छ । साहित्य जस्तो पवित्र चीजमा पनि उपभोक्तावादी चिन्तन हाबी छ । हरेकका मनहरु मिलाउँदै अघि बढ्ने क्रममा कसैसँग बैरभाव हुनुलाई मैले स्वभाविक ठान्छु । भनिन्छ, फलाम फलामबाट पिटिएपछि मात्र प्रयोग गर्न लायकको हुन्छ । हो, यही कुरालाई मैले राम्रोसँग अध्ययन गरेको छु । कुनै पनि क्षेत्रमा पाइला चालिरहेको बेलामा ती पाइलाहरुमा अवरोध खडा गर्नेहरु भएनन् भने ती पाइलाहरु चिप्लिन सक्छन् । तर अवरोध गर्नेहरु छन् भन्ने जानकारी भएमा त्यो पाइलालाई सजक भएर बलियोसँग टेकिन्छ । जसले गर्दा अगाडि बढ्न मद्दत पुग्छ । यहाँले गर्नुभएको रंगभेदको कुराले साहित्य क्षेत्र पनि अछुतो छैन । राजनीतिक पार्टीका भातृसंगठनका रुपमा रहेका साहित्यिक संस्थालाई मैले पनि त्यसरी नै हेर्ने गरेको छु । फरक यति हो कोही धेरै खरानी घस्छन् कोही कम ।
अन्तमा,
हरेक रचनाकार, लेखकले युगसँग सम्वाद गर्ने माध्यम उसको लेखन हो । आफ्नो लेखकीय मार्फत युगलाई बोल्ने लेखकको जिम्मेवारी हो । लेखन क्षेत्रमा भएपछि युगको लागि समाजमा केही छोडेर जानु पर्दछ । शैक्षिक योग्यता प्राप्त गर्ने र त्यसलाई देश विकासका लागि प्रयोग गर्ने कर्तव्यबाट म टाढा हुनै सक्दिन । तर साहित्यिक क्षेत्रको कुरामा मेरो लेखनशैली, वाचनशैलीलाई अझ परिस्कृत गर्नका लागि हौसल र प्रेरणाको स्रोत भनेका पाठक र स्रोता नै भएकोले रचनात्मक आलोचनाको प्रतिक्षामा हुन्छु म । रचनाकार आफैमा पूर्ण हुँदैन । उसलाई पूर्ण बनाउनका लागि पाठकको माया अवश्य चाहिन्छ ।







