Loading... आजः २२ असार २०८३, सोमबार । Monday 6th July 2026
ताजा खबर
  

कांग्रेसको विधान मस्यौदा समिति गठन : संयोजकमा खड्का

काठमाडौँ ।

नेपाली कांग्रेसले संघीय संरचनाअनुसार पार्टीको विधानमा आवश्यक संशोधन र परिमार्जन गर्न विधान संशोधन मस्यौदा समिति गठन गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधित र परिमार्जित) को धारा, २४ (८) बमोजिम बिहीबार विधान संशोधन मस्यौदा समिति गठन गरेका हुन् ।

मुलुकको नयाँ संघीय संरचनाअनुसार पार्टीका संगठनात्मक संरचनाहरुलाई पुनः संरचना गर्न विधानमा आवश्यक संशोधन गर्न कांग्रेस केन्द्रीय कार्य समितिको गत १६ वैशाखमा सम्पन्न बैठकले विधान मस्यौदा समिति गठन गर्ने निर्णय गरेको थियो ।

कांग्रेसले पार्टीका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यमा केन्द्रीय सदस्यहरु डा मीनेन्द्र रिजाल, फरमुल्लाह मंसुर, मानबहादुर विश्वकर्मा, दिलेन्द्रप्रसाद बडू, महालक्ष्मी उपाध्याय ‘डिना’, आनन्दप्रसाद ढुंगाना, नवीन्द्रराज जोशी, सीता गुरुङ, प्रदीप पौडेल र रमेश लेखक रहेका छन् ।

समितिले पार्टी सभापति देउवासँग परामर्श गरी आफ्नो कार्यविधि आफैँ तयार गरी लागू गर्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । समितिका संयोजकले आवश्यकतानुसार विभिन्न व्यक्ति तथा संस्थाहरुलाई आफ्नो समितिमा आमन्त्रण गर्न सक्ने अधिकार प्रदान गरिएको छ ।