Loading... आजः १६ बैशाख २०८३, बुधबार । Wednesday 29th April 2026
ताजा खबर
  

वर्षाैदेखि पुल नबन्दा जाेखिमपूर्ण यात्रा गर्न बाध्य

कृष्णप्रसाद अधिकारी

१० भाद्र, दैलेख (भगवती) ।

हिउँदको समयमा टोलटोलमै मोटर पुगेपनि बर्षातको समयमा जिल्लाका अधिकांश स्थानमा खोला तर्नै समस्या छ । कतै पक्की पुलको आवश्यकता छ भने कतै झोलुंगे पुल पनि नहुँदा जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता छ । यहि समस्या हो जिल्लाको भगवतिमाई गाउँपालिकाको ।

वर्षाैदेखि पुल नबन्दा जाेखिमपूर्ण यात्रा, सराेकारवालाकाे चाँसाे देखिएन
वडा नम्बर ३ र ४ जोड्ने घुम्ने धारा खोलामा झोलुंगे पुल नहँुदा सर्वसाधारणको यात्रा जोखिमपूर्ण बन्ने गरेको छ । जिल्लाको पूर्वी भागमा पर्ने उक्त गाउँपालिकाको दुई वटा वडालाई जोड्ने खोलामा पुल नहुँदा स्थानीयले सास्ती खेप्नुपरेको हो । बर्खामा खोला उर्लिएर आउने हुँदा जोखिम मोलेर स्थानीयले यात्रा गर्नुपर्ने बाध्यता अझै पनि जारी छ । स्थानीय तहका जनप्रतिनिधिहरुले समेत यो समस्याको समाधानको बाटो नखोज्नुले जनप्रतिनिधिबाट स्थानीयले गरेको आशा निरासामा परिणत भएको स्थानीयको भनाई छ ।

अहिले वडा नं ३ र ४ को सामुदायीक वनबाट सालका रुख काटेर अस्थायी काठको पुल (लाप्को)द्वारा खोला तर्ने गरेका छन् । ५ हजार लगानीमा स्थानीयले बनाएको लाप्को तरेर यहाँका स्थानीय विद्यार्थीमात्र हैन किसानको घाँस, दाउरा, सामान ओसार–पसार लगायतका कार्यहरु यसै लाप्कोको सहायताबाट तार्नुपर्ने बाध्यता रहेको छ ।खोला घटेका बेलामा मात्र वारपार गर्न सकिने भए पनि बर्खाको समय भने गाउँका बासिन्दाले जोखिम मोलेर खोला तर्नुको विकल्प छैन ।

 

विशेष गरि भगवती माध्यामिक विद्यालय धुम्नेमा अध्ययनरत बालबालिकाहरुलाई समस्या परेका छन् । घुम्ने धारा खोला तरेर यहाँका करिब ८० जना विद्यार्थी धुम्नेमा पढ्न आउछँन् । भगवती माध्यामिक विद्यालय घुम्नेका शिक्षक शान्ति प्रसाद रेग्मीले भने ‘पानी परेको दिन काठको पुलमा चिप्लेने डरले बालबालिकाहरु स्कुल आउदैनन् ।’
विद्यार्थी नियमित उपस्थित हुन नसक्दा पढाइको गुणस्तर समेत घटेको विद्यालयका प्रधानाध्यापक निम बहादुर खत्रीले बताए । अस्थायी रुपमा निर्माण गरिएको काठको पुलले केही समयका लागि समस्या सामाधान भएपनि उक्त खोलामा झुलुङ्गे पुल निर्माणको लागी पहल गरिरहेको भगवतिमाई गाउँपालिका ४ का वडा सदस्य गणेशप्रसाद अधिकारीले बताए ।