Loading... आजः १८ बैशाख २०८१, मंगलवार । Tuesday 30th April 2024

बिमस्टेक सम्मेलनको आज उद्घाटन, यस्तो छ तालिका

१४ भदौ, काठमाडौं ।

बिहीबार मध्यान्ह शुरु हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) चौथो शिखर सम्मेलनमा सहभागी हुन सबै सदस्य राष्ट्रका प्रमुखहरू काठमाडौं आइसकेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुट च्यान ओचा बिहीबार आइपुगेका छन् । श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना र भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुक बुधबार र म्यान्मारका राष्ट्रपति विन मिन्ट मंगलबार नै काठमाडौं आइसकेका थिए ।

बिमस्टेक सम्मेलनमा आएका राष्ट्र प्रमुख/सरकार प्रमुखहरूसँग राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा सामूहिक शिष्टाचार भेटवार्ता गरेकी छन् । त्यसपछि राष्ट्रपतिले अतिथिहरूको स्वागतमा आयोजना गरेको दिवाभोज शुरु हुनेछ ।

दिउँसो करिब तीन बजे होटल सोल्टीमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उदघाटन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भारतराज पौडेलले अनलाइनखबरलाई जानकारी दिए । बिमस्टेकको अध्यक्षता गरेको देशको प्रधानमन्त्रीको हैसियतमा ओलीले २२ मिनेट सम्बोधन गर्ने कार्यक्रम छ ।

ओलीको सम्बोधनपछि वर्णानुक्रम अनुसार बंगलादेश, भुटान, भारत, म्यान्मार, श्रीलंका र थाइल्याण्डका राष्ट्रप्रमुख/सरकार प्रमुखहरूले १५-१५ मिनेट मन्तव्य राख्नेछन् ।

साँझ करिब छ बजेतिर सम्मेलनको पहिलो दिनको औपचारिक कार्यक्रम सकिन्छ । त्यसपछि अतिथिहरू प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको रात्रीभोजमा सहभागी हुनेछन् ।

शुक्रबार विहान प्रधानमन्त्री ओलीले सदस्य राष्ट्रका सरकार प्रमुख/राष्ट्र प्रमुखको सम्मानमा ‘रिटि्रट’ आयोजना गरेका छन् । त्यसपछि बिहान साढे एघार बजे बिमस्टेकको दोस्रो दिनको सत्र शुरु हुनेछ ।

शान्त, समृद्ध र दिगो बंगालको खाडीतर्फ भन्ने मुलनारा रहेको सम्मेलनमा बिमस्टेक क्षेत्रमा प्रतिआतंकवादका साझा रणनीति तय गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ । अन्तर्राष्ट्रिय आतंकवाद, सीमापार सांगठनिक अपराध र अवैध ओसारपसार सम्बन्धी बिमस्टेक सन्धि ४ भदौमा प्रतिनिधिसभाबाट अनुमोदन भइसकेको छ ।

सम्मेलनमा स्वतन्त्र व्यापार, बिमस्टेक वडापत्र निर्माण, संयुक्त लगानी कोष, भन्सार सहजतासम्बन्धी सम्झौता, मोटरगाडी तथा परिवहन, स्थल तथा जलमार्ग कनेक्टिभिटी जस्ता एजेण्डामा छलफल हुनेछन् ।

बुधबार बसेको बिमस्टेकको १६ औं मन्त्रीस्तरीय बैठकले विद्युत प्रसारण लाइन (ग्रीड इन्टरकनेक्सन्स) को एमओयुलाई अगाडि बढाउने निर्णय गरिसकेको छ । मन्त्रीस्तरीय बैठकमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले दिगो यातायात सञ्जाल, विद्युत प्रसारण लाइन अन्तरसञ्जाल र इन्फर्मेसन हाइवे, प्राकृतिक प्रकोप, भोकमरी, जलवायु परिवर्तन लगायतका विषयमा सदस्य राष्ट्रहरूबीच सहकार्य आवश्यक रहेकोमा बताएका थिए । बिमस्टेकलाई प्रतिबद्धताबाट कार्यान्वयन चरणमा लैजानुपर्नेमा उनको जोड थियो ।

परराष्ट्र मन्त्री ज्ञवालीका अनुसार महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर र काठमाडौं घोषणापत्र जारी गर्दै सम्मेलन समापन हुनेछ । पाँचौ शिखर सम्मेलन श्रीलंकाले आयोजना गर्नेछ ।

अन्लाइन खबर