सरकारी सवारी साधनको दुरुपयोग गर्दै कर्मचारी
सुर्खेत
सुर्खेतको पञ्चपुरी नगरपालिकाको मोटर दुरुपयोग भएको छ । उक्त मोटरसाइकल वीरेन्द्रनगरमा निजी चाउमिन बेच्ने काममा प्रयोग भएको पाइएको छ । शुक्रबार (आज) बिहानै भे १ ब १२२५ सरकारी नम्बर प्लेटको मोटरसाइकल चाउमिन बोक्ने काममा प्रयोग भएको पाइएको हो ।
सरकारी नम्बर प्लेट भएको मोटरसाइकल यसरी चाउमिन बोक्न प्रयोग हुनु भनेको सरकारी सम्पत्तिको चरम दुरुपयोग हुनु हो । जनताले तिरेको करबाट सरकारी कामकाजका लागि प्रयोग गर्न भनि खरिद हुने सवारी साधन र त्यसमा प्रयोग हुने इन्धन यसरी दुरुपयोग हुनु राज्यको सम्पत्ति माथिको दोहन हुनु हो ।

सुर्खेत पश्चिम स्थित पञ्चपुरी नगरपालिकाको सरकारी मोटरसाईकल कर्मचारीले निजि प्रयोजनमा प्रयोग गर्ने पाईएको हो । पञ्चपुरी नगरपालिकाको सरकारी नम्बर प्लेटका गाडीको व्यापक दुरुपयोग भएको छ । जनताको काम छिटो छरितो होस भनेर स्थानीय सरकारले सवारी साधन दिए पनि यसको सही सदुपयोग हुन सकेको छैन । पञ्चपुरी नगरपालिकाका खानेपानि सहायक टेक्निसियन यामराज जोशीले चढ्ने भे १ व १२२५ नम्वरको सरकारी मोटरसाईकल प्राईभेट कम्पनिको चाउमिन वेच्नमा प्रयोग भइरहेको छ । यति मात्र होइन उक्त मोटरसाइकल उधोगको चाउमिन सप्लाई गर्ने, घाँसपात ओसार्ने र बच्चालाई मोटरसाइकल चलाउन सिकाउने काममा प्रयोग हुँदै आएको स्थानीयवासीन्दाहरुले गुनासो गरेका छन् । सरकारी कार्यालयहरुमा खरिद गरिने सवारी साधन जनताका कामकाज गर्न सहजता होस भन्ने हेतुले खरिद गर्ने गरिन्छ ।
टेक्निसियन यामराज जोशीले चढ्ने भे १ व १२२५ नम्वरको मोटरसाइकल पनि सोही हेतुले २ महिना अघिमात्र खरिद गरिएको नगरपालिकाले जनाएको छ । तर नगरपालिकाका खानेपानि सहायक टेक्निसियन यामराज जोशीले कार्यालयको काममा प्रयोग नगरी वीरेन्द्रनगर वजारमा चाउमिन वेच्ने प्रयोजनमा प्रयोग गरेका छन् ।
स्थानीयका अनुसार उक्त मोटरसाइकल १ दिन पनि कार्यालय प्रयोजनका लागि प्रयोग भएको छैन । मोटरसाईकल निजि प्रयोजनमा प्रयोग भएको पाईएपछि पञ्चपुरी नगरपालिकाका मेयर उपेन्द्र थापाले मोटरसाईकल दुरुपयोग गर्ने कर्मचारी जोशीलाई तत्काल स्पस्टिकरण सहित कार्वाहीको प्रक्रिया अघि वढाउने वताए । राज्यको सम्पति दुरुपयोग गर्ने अधिकार कसैलाई पनि छैन् । उनले भने, तत्काल मोटरसाईकल कार्यालयमा ल्याउन निर्देशन दिइ सकिएको छ । यस्तो नाजायज कार्य गर्ने जो कोहीलाई पनि कानून बमोजिम कारवाहीका लागि अघि वढ्ने उनको भनाई छ । जनताको सेवा सुविधाका लागि ल्याईएको मोटरसाईकल व्यक्तिगत तवरले संचालन गर्न पाईदैन् मेयर थापाले भने ।






