गजलमा डुब्यो नेपालगञ्ज
बाँके
१६ भाद्र
मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठानको आयोजनामा १५३ औं मोती जयन्ति एवम् ८० औं प्रकाश राजापुरी जयन्ति मनाएको छ । उक्त अवसरमा चार जना स्रष्टाको संयुक्त गजल वाचन कार्यक्रम समेतको आयोजना गरिएको थियो । दाङका ऋषि शर्मा सुदामा, जाजरकोटका क्षितिज समर्पण, बर्दियाका अञ्जु स्मारिका र बाँके कोहलपुरका नबिता बरालले नेपालगञ्जको साहित्यिक क्षेत्र पुरै गजलमा डुब्यो । चार जना स्रष्टाहरुले तीन चरणमा गरेर ९÷९ वटा गजल वाचन गर्नुभएको थियो ।

मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठानका पूर्व अध्यक्ष एवम् वरिष्ठ गजलकार अब्दुल लतिफ शौकको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा बर्दिया, सुर्खेत, दैलेख, कालिकोट, जाजरकोट, दाङ, कैलाली लगायतका जिल्लाहरुबाट गजलकारहरुको उपस्थिति रहेको थियो । नेपाली गजलका पिता मोतीराम भट्ट, प्रकाश राजापुरी र कार्यक्रममा गजल वाचन गर्ने चार जना स्रष्टाहरुको बारेमा गजलकार खगेन्द्र गिरी कोपिलाले चर्चा परिचर्चा गुर्न भएको थियो । कार्यक्रममा डि.बी. रास्कलको गजल गीत समेत विमोचित गरिएको थियो ।

चारै जना स्रष्टाहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रम मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठानका अध्यक्ष पूर्ण समिर महताराको अध्यक्षतामा भएको थियो भने सहजीकरण हेमप्रकाश भण्डारीले गर्नुभएको थियो ।








