व्यवसायीहरुलाई कर सम्बन्धि प्रशिक्षण
सुर्खेत, १७ भदौ ।
सुर्खेतका व्यवसायीहरुलाई कर सम्बन्धि प्रशिक्षण दिइएको छ । सुर्खेत उद्योग वाणिज्य संघको समन्वय तथा आन्तरिक राजश्व विभाग र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा सुर्खेतका व्यवसायीहरुलाई आयकर तथा मूल्यअभिवृद्धि कर सम्बन्धि प्रशिक्षण दिइएको हो । आयकर र मूल्यअभिवृद्धि करसम्बन्धि व्यवसायीहरुमा अन्यौलता देखिएकाले यसबारे सचेत गराउन तीन दिने तालिमको आयोजना गरिएको नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले जानकारी दिए । राज्यका ऐन नियम सबैले मान्नुपर्ने भन्दै अध्यक्ष शाहीले व्यवसाय गर्दा आफूले पालना गर्नुपर्ने नीति नियमबारे पनि व्यवसायीहरु जानकार हुनुपर्ने बताए ।
साथै उनले प्रदेश र स्थानीय सरकारले लगाएको करले व्यवसायीहरु त्रसित बनेको भन्दै दोहोरो कर हटाउनुपर्ने र लगानीमैत्री वातावरण सिर्जन गर्नुपर्नेमा जोड दिए । आन्तरिक राजश्व कार्यालय सुर्खेतका प्रमुख यज्ञराज ढकालले कर सम्बन्धि बनेका नयाँ कानुनहरुबारे पनि सबै व्यवसायी जानकार हुनुपर्ने बताए । कर छल्ले गरी नभई आफूले गरेको कारोबार अनुसारको कर राज्यलाई तिरेर सुरक्षित हुनेतर्फ व्यवसायी सजग हुनुपर्ने ढकालको भनाइ थियो ।
उनले पछिल्लो समय सुर्खेतमा कर तिर्नेको संख्यामा पनि वृद्धि भएको बताए । तालिमका प्रशिक्षक लक्ष्मीप्रसाद लुइटेलले व्यवसायीहरुले भोगिरहेका कर सम्बन्धि समस्या र त्यसका समाधानका बारेमा जानकारी गराएका थिए । तालिम तिन दिनसम्म सञ्चालन भएको थियो । तालिमका सहभागि व्यवसायीहरुले तालिमबाट करका बारेमा धेरै कुरा थाहा पाइएको भन्दै यस्ता तालिमहरु समय समयमा सञ्चालन गर्न आग्रह गरेका थिए ।






