गजल मञ्चको पाँचौ वार्षिकोत्सव : तीन स्रष्टा सम्मानीत
२३ भाद्र
सुर्खेत
मध्यपश्चिमाञ्चल गजल मञ्चले आफ्नो पाँचौ वार्षिकोत्सव मनाएको छ । गजल मञ्चले आफ्नो पाँचौ वार्षिकोत्सवको अवसरमा तीन स्रष्टालाई समेत सम्मानीत गरेको छ । बैतडीका गजलकार वासुदेव पाण्डेय ‘प्रभाकर’ लाई मोती साधना सम्मान प्रदान गरिएको छ ।

यसैगरी मध्यपश्चिम गजल सम्मानबाट जाजरकोटका गजलकार पूर्ण समिर महतारा र दैलेखका गजलकार निराजन बिष्ट दोषीलाई सम्मान गरिएको थियो । यसै अवसरमा कर्णाली प्रदेशकै प्रतिनिधि एक दर्जन गजलकारहरुका दुई दर्जन गजल गुञ्जिए सुर्खेतको वीरेन्द्रनगरमा ।

हेमन्त केसी, तीर्थ समिर, झलक वली, महेश भट्टराई, सन्देश कठायत, नवराज कुन्दन, भरत प्रमोद दाहाल, खगेन्द्र अटल, धिरेन अनुपम, महेन्द्र चन्द महासागर पुष्प आचार्य पीडित र ऋषि शर्मा सुदामाका दुई दर्जन गजल वाचन गर्नुभएको थियो ।

भ्याली भ्यू कटेजको हलमा भएको उक्त कार्यक्रममा कथाकार महेशविक्रम शाहले प्रमुख अतिथिको रुपमा शुभकामना मन्तव्य दिँदै भन्नु भयो, ‘एक से एक गजलहरु सुन्दा म पनि गजलकार भएको भए, यस्तै गजलहरु मैले पनि लेख्न सकेको भए भन्दै गजल वनमारा झार नभएको बताउनु भयो ।’ उहाँले भन्नुभयो, ‘म गजललाई माया गर्ने कथाकार हुँ ।’ गजलको एउटा शेरले दिएको झड्कामा एउटा पूर्ण कथा समेटिन सक्ने हुनाले पनि गजलले आफ्नो यो स्थान बनाउन सकेको कारण गजल विधा अहिले सबै माझ लोकप्रिय बन्न सकेको उहाँको भनाई थियो ।

गजल मञ्चको पाँचौ वार्षिकोत्सवको अवसरमा अनमोल स्मृति फाउण्डेशनका अध्यक्ष निराजन शाहीले प्रत्येक वर्ष गजल मञ्चले प्रदान गर्ने गरी ७ हजार ७ सय ७७ नगद को अनमोल साहित्य स्मृति पुरस्कारको स्थापना गरेको घोषणा गर्नुभयो ।

अध्यक्ष निराजन शाहीका नाबालक छोरा अनमोल शाही उपचारको क्रममा दिवंगत भएकोले दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शनिबार (आज) नै परेको उहाँको जन्मजयन्ति समेत मनाइएको थियो । मुख्य प्रायोजक बुलबुले भ्यू होटलका प्रोपराइटर जनक सिंह ठकुरी लगायतका प्रायोजकहरुलाई कदर पत्रद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रममा दलजीत रसाइलीको कथा संग्रह ‘कानूनका आँखा’ को विमोचन समेत गरिएको थियो भने चित्रकार एवम् साहित्यकार बिक्रम शिशिरको एकल चित्रकला प्रदर्शनी समेत गरिएको थियो । कार्यक्रममा दैलेख, सुर्खेत, बाँके, बर्दिया, जाजरकोट, सल्यान, कैलाली, बैतडी, अछाम, कालिकोटलगायतका जिल्लाहरुबाट गजलकारहरुको उपस्थिति रहेको थियो ।
‘हजारी थुङ्गा’ गजल संग्रहका स्रष्टा लक्ष्मण बिसी ‘प्रभात’ विरामी भएर उपचार अभाव भइरहेकोले मध्यपश्चिमाञ्चल गजल मञ्चको नेतृत्वमा सहयोग संकलन गरिने समेत गजल मञ्चले आफ्नो पाँचौ वार्षिकोत्सवमा उद्घोष गरेको छ । गजल मञ्चका अध्यक्ष खगेन्द्र अधिकारी ‘अमृत’को सभापतित्वमा भएको कार्यक्रमको सहजीकरण संस्थाका महासचिव पहल असिम थापाले गर्नुभएको थियो भने अतिथिहरुलाई शब्द स्वागत संस्थाका सदस्य तेज बिक्रम केसीले गर्नुभएको थियो ।








