Loading... आजः २१ बैशाख २०८३, सोमबार । Monday 4th May 2026
ताजा खबर
  

कविता – बाबा र म -वासुदेव पाण्डेय ‘प्रभाकर’

‘बाबा’ शब्द मिलेर ओठ दुइटा जो हुन्छ उच्चारण
‘बाबा’ शब्द म दन्तपङ्क्ति नहुँदा भन्थेॅ त्यसै कारण ।
‘बाबा’शब्द सिकेछु बालवयमा माया हुनाले छिटो
‘बाबा’शब्द विशेष आज र हिजो वा भोलि उस्तै मिठो ।।

Image result for father day

‘बाबा’ काम परेर बाहिर गई कैले नफर्के छिटो
‘बाबा’आउनु हुन्छ है अब भनी हेरेर बस्थ्यो ठिटो ।
‘बाबा’ पर्खनुको उमङ्ग भरिई खानै म भुल्थेॅ लिटो
‘बाबा’साथ हुँदा त भोजन सबै लाग्थ्यो मलाई मिठो ।।

‘बाबा’ सागर हुन् म बूँद जलको, आकाश जस्तै खुला
‘बाबा’ हुन् धरती र देव,जगका हुन् सृष्टिकर्ता ठुला ।
‘बाबा’ सिर्जन बिम्ब हुन् अनुपमा आमा दया सागर
‘बाबा’ कमर्ठ,पौरखी विगतझैॅ देखेॅ उही जाँगर ।।

‘बाबा’ आउनु हुन्छ मात्र अभिधा हो अर्थ हुन्थ्यो बढी
‘बाबा’ ल्याउनु हुन्छ अर्थ गहिरो हुन्थ्यो प्रतीक्षा घडी ।
‘बाबा’ फर्कनु हुन्छ है अब भनी हेरेर बस्थ्यौॅ घडी
‘बाबा’ झर्कनु हुन्छ है अब भनी बस्थ्यौॅ लुकाई छडी ।।

‘बाबा’ मा अभिभावकत्व गहिरो, झन् न्यायको चेत छ
‘बाबा’ दुर्लभ प्राप्ति हो फसलझैॅ फल्ने कहाँ खेत छ ?
‘बाबा’ पास भए उपेक्षित निकै, टाढा भए सम्पदा
‘बाबा’ हात समाउँथे भर दिई हिँड्थे म सानो छँदा ।।

‘बाबा’ कोट फुकाल्दथे जति छिटो गोजी म छाम्थेॅ तर
‘बाबा’ को मुख चल्दथ्यो कि म सधैॅ ठान्थेॅ यहाँ के छ र ?
‘बाबा’को मुख खोल्न हात दुइटा साँचो बनेका थिए
‘बाबा’ बन्न कहाँ रहेछ सजिलो साँचो भनेका थिए ।।

‘बाबा’ शब्द भनी,सुनी म कहिले थाक्थेॅ कठै वाक्क भै
‘बाबा’ शब्द पढेर अर्थ कति पो बुझ्थेॅ कठै विज्ञ भै ।
‘बाबा’ शब्द गरेर वर्णन कहाँ के लेख्नु जान्ने भई
‘बाबा’ हुन् धरती र वासु कमिलो हिँड्दा जहीॅको तहीॅ ।।