कर्णाली प्रदेशमा धुमधामले मनाइयो संविधान दिवस
सुर्खेत
नेपालको संविधान जारी भएको तेस्रो वर्ष पूरा भई चौथो वर्षमा प्रवेश गरेको अवसरमा विविध कार्यक्रम गरेर आज देशभर संविधान दिवस मनाइँदैछ । २०७२ साल साउन तीन गते तत्कालिन संविधानसभाबाट संविधान जारी भएको सम्झनामा आजको दिनलाई संविधान दिवसको रुपमा मनाइने गरिएको छ ।
संविधान दिवसका अवसरमा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित खुल्ला मञ्चमा विशेष समारोह आयोजना गरिएको छ ।
समारोहमा प्रदेश प्रमुख दुर्गाकेशर खनाल, आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीलगायत अन्य मन्त्रीहरू, प्रदेश सांसद, राजनीतिक दलका प्रमुखहरू, सुरक्षा निकायका प्रमुख, राष्ट्रसेवक कर्मचारी, विद्यार्थीलगायत विभिन्न पेशा व्यवसायका व्यक्तिहरूको उपस्थिति रहेको छ ।
समारोहमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्काउटद्वारा कवाज, विभिन्न धार्मिक–सामाजिक संघ/संस्थाबाट विभिन्न जातजातिको भेषभूषा झल्कने झाँकी प्रदर्शन गरिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही संयोजक रहेको संविधान दिवस मूल समारोह समितिमा उनी भने उपस्थित हुन सकेनन् । आजै चिन भ्रमणमा जाने कार्यतालिका भएकाले मुख्यमन्त्री उपस्थित नभएका हुन् ।














