भेरी नदीे किनार समझीघाटमा व्यवस्थित दाहसंस्कार स्थल बनाइने
सुर्खेत ।
सुर्खेतको वीरेन्द्रनगर– ११ स्थित भेरी नदीे किनार समझीघाटमा व्यवस्थित दाहसंस्कार स्थल बनाइने भएको छ । सबै धर्म संस्कृति र संस्कार मान्ने समुदायका लागि छुट्टा– छुट्टै दाहसंस्कार स्थल बनाउन लागिएको हो । सो अभियानका लागि रकम जुटाउन यही असोज ९ गतेदेखि १६ गतेसम्म वीरेन्द्रनगरको खुल्लामञ्चमा ‘भेरीगंगा समझीघाट साँस्कृतिक धार्मिक महा–महोत्सव’ लगाउने तयारी गरिएको आयोजकले बताएको छ ।
महोत्सव मूल आयोजक समितिले शनिवार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी धार्मिक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । उक्त धार्मिक महोत्सव हिन्दुहरुको मात्र नभएकाले सबै धर्मालम्बीहरुको सहयोग र समन्वयमा सञ्चालन गर्न लागिएको भन्दै महोत्सव मूल आयोजक समितिका संयोजक छविलाल सिग्देलले सरोकारवाला पक्षसँग सहकार्य गर्दै आधुनिक दाहसंस्कार स्थल निर्माणका लागि धार्मिक महोत्सव आयोजना गर्न लागिएको बताउनु भयो ।
२ करोड रकम संकलन गर्ने लक्ष्यसहित सुरु गर्न लागिएको महोत्सवमा इच्छुक दाताहरुले भूमी तथा तुलादान पनि गर्न सक्ने मूल आयोजक समितिले जनाएको छ । यज्ञमा १००८ शालीग्राम भगवानको दर्शन प्रदक्षिणा, प्रत्येक दिन आरती प्रज्वलन, गौदान, ग्रहशान्ति, सोह्रश्राद्ध लगायतका धार्मिक संस्कारहरू गरिने आयोजकले बताएको छ । यस्तै, प्रत्येक दिन विहान १० बजेदेखि ४ बजेसम्म संगीतमय कथा, प्रवचन, झाँकी प्रदर्शन गरिने बताइएको छ ।
महोत्सवमा संकलन हुने जिन्सी तथा नगदको आयव्यय पारदर्शी तरिकाले सार्वजनिक गरिने भन्दै समितीका सचिव सिताराम कार्कीले सबैलाई स्मार्ट दाहसंस्कार स्थल निर्माण गर्ने अभियानमा सहयोग गर्न आग्रह गर्नुभयो ।
समझीघाटमा बनाइने दाहसंस्कार स्थल मुलुककै नमुना हुने अभियान कर्ताहरूले दाबी गरेका छन । विद्युतीय शवदाह यन्त्र सहितको स्मार्ट आर्यघाट निर्माण गर्दा वन जंगलको विनाश तथा वातावरणीय प्रदूषणलाई नियन्त्रण गर्न सकिने उनीहरूको दापी छ ।।






