काँग्रेस कार्यकर्ताहरु बिश्रामरहित भएर अघि बढ्नुहोस् : शाही
कृष्ण प्रसाद अधिकारी
असोज १२ दुल्लु दैलेख
प्रदेश सभा सदस्य हिम बहादुर शाहीले नेपाली काँग्रेसका नेता कार्यकर्ता विश्रामरहित भएर अघि बढ्न आग्रह गर्नुभएको छ । दुल्लु नगरपालिकामा आयोजित शहिद पूर्ण बहादुर भण्डारी स्मृति दिवस कार्यक्रममा बोल्दै सदस्य शाहीले यस्तो आग्रह गर्नुभएको हो । उहाँले दैलेखमा नेपाली काँग्रेसका तत्कालिन नेता भद्र बहादुर शाही र पूर्ण वहादुर भण्डारीको अभाव रहेको बताउनु भयो । प्रदेश सभा सदस्य शाहीले शहिद भण्डारीको योगदानको बारेमा चर्चा गर्नुभएको थियो । शाहीले सम्पूर्ण नेता कार्यकर्ताहरुले निर्वाचनको निरासालाई किनारा लगाएर सहासका साथ लोकतन्त्रको संस्थागत विकासको लागि राष्ट्रियताको संरक्षण र नेपाली जनताको समृद्धिका लागि यात्रा तय गर्नु पर्ने बताउनु भयो ।
यसैगरी दुल्लु नगरपालिकाका नगरप्रमुख धनश्याम भण्डारीले दुल्लुमा अप्टिकल फाइबर बिछाउँने काम छिट्टै सुरु हुने बताउनु भएको छ । उहाँले नेपाली काँग्रेसका तत्कालिन क्षेत्रीय सभापति शहिद पूर्ण बहादुर भण्डारीको १६ औँ स्मृति दिवसको अवसरमा यस्तो बताउनु भएको हो । नेपाली काँग्रेस दुल्लू नगर कार्य समितिको आयोजनामा बालेश्वरमा स्मृति दिवस मनाइएको छ । कार्यक्रममा दुल्लू नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीले शहीद पूर्ण बहादुर भण्डारीले देखाएको बाटोमा अगाडी बढ्न तयार रहेको बताउनु भयो । उहाँले दुल्लूको विकासको लागि अवको केही दिनमा अप्टिकल फाइवर विछाउने काम सुरु हुने बताउनु भयो । कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्य समितिका सदस्य किरण भण्डारी, नेपाल महिला संघ जिल्ला कार्य समिति दैलेखका अध्यक्ष सीता राना, महाधिवेसन प्रतिनिधि सुमित्रा शाह, आग्ने सार्की, पुर्व महाधिबेसन प्रतिनिधि राजेश शाही, केशव भण्डारी लगायतका बक्ताहरुले शहिद भण्डारीको योगदानको बारेमा प्रशंसा गरेका थिए ।
नेपाली काँग्रेस दुल्लू नगर कार्य समितिका सभापति टंक रिमालको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन दुल्लू नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष लाल बहादुर रावतले गर्नु भएको थियो । कार्यक्रममा भण्डारीको शालिकमा पुष्पगुच्छसहित श्रद्धाञ्जली अर्पण गरिएको थियो ।







