दुई वर्ष भित्र छुवाछुत मुक्त प्रदेश : मन्त्री रावल
सुर्खेत
१५ असोज ।
कर्णाली प्रदेशलाई दुई वर्ष भित्रमा छुवाछुत मुक्त प्रदेशको रुपमा घोषणा गरिने कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले बताउनु भएको छ । आज सुर्खेतको वीरेन्द्रनगरमा भएको ‘दलित तथा सिमान्तकृत समुदायको आर्थिक तथा सामाजिक अवस्थाको विबेचना सम्बन्धी कर्णाली प्रदेश स्तरीय कार्यशाला गोष्ठी’ भएको हो ।

कर्णाली प्रदेश स्तरीय कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री रावलले भन्नुभयो सबै पक्षका जनताको संलग्नता विना विकास सम्भव छैन भने ‘सबैको अपनत्व सहितको विकास आवश्यक छ । त्यसैले कुनै पनि जातजाती, भाषा, धर्म वा लिङ्ग अथवा समुदायलाई काखा र पाखा गरेर होइन सबै पक्षलाई समेट्ने गरी नीति तथा कार्यक्रम बनाइएको छ ।’ कर्णाली प्रदेशमा अझैँ पनि वर्गीय विभेद हावी भएकोले त्यसलाई अन्त्य गर्नका लागि सबै एकजुट भएर लाग्न आवश्यक भएको बताउँदै छुवाछुत भनेको कुनै जाती वा समुदायको नभई मान्छे मान्छे वीचको विभेद हो । जुन कार्य घृणित छ मन्त्री रावलको भनाई थियो । कार्यक्रममा मन्त्री रावलले अबको तीन वर्षमा साक्षर प्रदेश घोषणा गर्ने गरी काम गरिरहेको समेत बताउनु भयो ।

कार्यक्रममा दलित अगुवा हिरा विश्वकर्माले जातीय विभेदको अन्त्य नभएसम्म समृद्ध नेपालको निर्माण हुन नसक्ने भएकोले जातीय विभेदको अन्त्य हुनु जरुरी रहेको बताउनु भयो ।
(भोली) मंगलबारसम्म संचालन हुने कार्यशाला गोष्ठीले सुर्खेत घोषणा पत्र तयार गर्ने आयोजकले जनाएको छ । कार्यक्रम कर्णाली विकास सेवा समाजका अध्यक्ष धन बहादुर नेपालीको सभापतित्वमा भएको थियो ।






