Loading... आजः २२ बैशाख २०८३, मंगलवार । Tuesday 5th May 2026
ताजा खबर
  

लेकबेशी महोत्सव सञ्चालन हुने

सुर्खेत ।

लेकबेशी युवा मञ्च नेपालको आयोजनामा लेकबेशी नगरपालिका दशरथपुरको गमखोलामा दशैँ पुर्णिमामा कात्तिक ७, ८ र ९ गते लेकबेशी महोत्सव सञ्चालन हुने भएको छ । ‘खेलकुद, कला, संस्कृति, तथा कृषिमा अर्गानिक हाम्रो सान ! समृद्ध प्रदेश कर्णालीको पहिचान’ भन्ने मुल नारा सहित महोत्सव आयोजना गर्न लागिएको महोत्सव सञ्चालक समितिका संयोजक किशोर पोखरेलले बताए ।

स्थानीय कला, संस्कृतिको संरक्षण र प्रर्वधनमा जोड दिदैँ स्थानीय स्तरमा उत्पादित घरेलु तथा कृषि उपज वस्तु प्रदर्शनीमा राखिने भएको हो । महोत्सवमा विभिन्न खेलकुद तथा कला संस्कृति झल्काउने झाँकी सहित स्थानीय र राष्ट्रिय कलाकारको प्रस्तुती रहने छ । महोत्सवमा व्यापारी र उद्योगीहरुका लागि स्टलको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
खेलकुदतर्फ खुला पुरुष भलिवल प्रतियोगिता, लोक नृत्य प्रतियोगिता र सटफुट प्रतियोगिता हुने अध्यक्ष पोखरेलले जानकारी दिए । भलिबलको प्रथम पुरस्कार ४० हजार रुपैया नगद सहित प्रमाण पत्र, दोस्रो स्थान प्राप्त गर्नेलाई नगद २० हजार रुपैया र प्रमाण पत्र सहित सम्मान पत्र प्रदान गरिने आयोजकले जनाएको छ । खुला लोक नृत्य प्रतियोगितामा उत्कृष्ठ हुनेलाई नगद एक हजार रुपैया सहित सम्मान पत्र, सटफुट प्रतियोगितामा प्रथम हुनेलाई नगद दई हजार सहित प्रमाण पत्र, दोस्रो स्थान प्राप्त गर्नेलाई नगद एक हजार सहित प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।