कांग्रेसले देशको ढुकुटी तहसनहस, लथालिङ्ग र भताभुङ्ग पारेकोले छिटो काम भएन : कंडेल
सुर्खेत २६, असोज ।
कांग्रेसले यसअघि सत्ता सञ्चालन गर्दा देशको ढुकुटी तहसनहस, लथालिङ्ग र भताभुङ्ग पारेकोले वर्तमान केन्द्रिय र प्रदेश सरकारहरुले अपेक्षाकृत गतिमा काम गर्न नसकेको पूर्व मन्त्री एवं नेकपाका कर्णाली प्रदेश सह–इन्चार्ज यामलाल कंडेलले आरोप लगाएका छन ।
सुर्खेत चेम्बर अफ कमर्सले सुर्खेतको वीरेन्द्रनगरमा शनिबार आयोजित दशै,तिहार एवं छठ लगायतका चाडपर्वहरुको शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथि समेत रहेका कंडेलले दुइतिहाइको सरकार भएपनि ढुकुटी रित्तो पारिएकोले अपेक्षाकृत रुपमा गति नलिएको स्वीकार गरेका छन ।

कर्णाली प्रदेश अन्य प्रदेशहरुको तुलनामा गरिव प्रदेशको रुपमा देखिएतापनि यसलाई सम्पन्न बनाउन लगानी आवश्यक देखिएको बताएका छन । आवश्यक संरचना नभएर पनि समस्या देखिएको छ, उनले भने , ‘तैपनि दीर्घकालीन महत्व राख्ने हिल्सासम्मको बाटो निर्माण लगायतका दुरगामी महत्वका योजना निर्माणमा प्रदेश सरकार लागिरहेको छ ।’
एक अर्को प्रसंगमा आफु जन निर्वाचित भैसकेपछि हरेकपल्ट विकास निर्माणमा जोड दिने गरेको तर त्यसको प्रचार कम गर्ने गरेको बताए । प्रदेश सरकारबाट यसपटक पर्यटनका क्षेत्रमा थुप्रै कामहरु गरिन लागेको बताउदै काँक्रेविहारलाई १० करोड, बुलबुलेलाई ५ करोड छुट्टयाइएको र आफ्नै पालामा यसअघि योजना बनेको सुर्खेत उपत्यका चक्रपथको कार्यक्रम यो वर्ष दु्रत गतिमा अघि बढ्ने जानकारी दिए ।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले कर्णाली प्रदेशमा आउने लगानीकर्ताहरुलाई आकर्षित गर्न १० वर्ष सम्म कर छुट गरिदिन नेपाल सरकारलाई आग्रह गरिएको र केन्द्रिय सरकारबाट स्वीकृति हुनासाथ तिव्र गतिमा लगानी आकर्षित गर्न अन्य कार्यक्रमहरुको समेत घोषणा गरिने जानकारी दिए । प्रदेश सरकार कर्णालीको विकासकोलागि परिरहेको दावी गर्दै भर्खरै बजेट पास भएको र आवश्यक संरचनाको अभावमा बजेट कार्यान्वयनमा ढिलाई भैरहेको बताए ।
कार्यक्रममा शुभकामना मन्तब्य राख्दै आन्तरिक राजस्व कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख यज्ञराज ढकालले कर कार्यालयबाट समय–समयमा दिइने करछुट लगायतका सुविधाहरुको उपयोग गर्न ब्यवसायीहरुलाई आग्रह गर्दै समयमै कर तिरे जरिवानाबाट बच्न सकिने जानकारी दिए ।
कार्यक्रमलाई राप्रपा प्रजातान्त्रिकका कविराम पुरीले सम्बोधन गर्दै २०४६ साल पछि नेपाललाई स्वीजरल्याण्ड बनाउने दलहरुको प्रतिवद्धता कहाँ पुग्यो ? भनी प्रश्न गरेका थिए ।
सुर्खेत चेम्बरका अध्यक्ष चिन्तामणि शर्माको अध्यक्षतामा भएको शुभकामना आदानप्रदान कार्यक्रमलाई चेम्बरका बरिष्ठ उपाध्यक्ष भुपेन्द्रनाथ योगीले स्वागत शुभकामना मन्तब्य राखेका थिए । संस्थाकी कोषाध्यक्ष हिमाकुमारी उपाध्यायले कार्यक्रमको सञ्चालन गरेकी थिइन ।






