Loading... आजः २० बैशाख २०८३, आईतवार । Sunday 3rd May 2026
ताजा खबर
  

राउटेलाई कर्णालीमा कुखुरा, भुजा र विस्कुट

सुर्खेत-

दिउँसोको करिव ४ बजेको थियो। कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको वइटिङ्ग रुममा थिए ८ जना राउटेहरु। राउटे मुखिया डिलबहादुर शाही, वीरबहादुर शाही र सूर्यनारायण शाहीले मन्त्री विमला केसीलाई कुरिरहेको बताए।

‘आधा घण्टा भयो आउँछु भन्या छ’, राउटे मुखिया सूर्यनारायण शाहीले भने, ‘जनताहरु भोकै छन्, दशै खर्च माग्न्या हो।’ कुरा सकिन नपाउँदै मन्त्री विमला केसी आइपुगिन्। राउटेहरुका समस्या सामाधानको लागि पहल गर्ने आश्वासन दिइन्। कर्मचारीले विस्कुट र भुजा ल्याएपछि मुखियाका हातमा थमाइन।

‘अहिले यति नै भयो म तपार्इँका समस्याको बारेमा पहल गर्नेछु।’ मन्त्री केसीले भनिन, ‘सबैले बराबरी बाँढेर खानु।’ राउटेहरु पनि यही भएपनि लिनु पर्‍यो भन्दै मन्त्रालयबाट निस्कीए।

त्यसपछि राउटेहरु सामाजिक विकास मन्त्रालमा छिरे। मन्त्रीसँगको आफ्ना समस्याहरु सुनाए। कुराकानीपछि फोटो सेशन गरे। ४२ बोरा चामल र ४२ वटा कुखुरा किन्न पुग्ने पैसा लिएर विदा भए। सामाजिक विकास मन्त्री दल रावलले प्रति परिवार एक-एक बोरा र एक-एक वटा कुखुरा पैसा दिएको बताए।

अघिल्लो हप्ता काठमाण्डौं पुगेका राउटेहरु प्रधानमन्त्री केपी शर्मा ओलीले दशैं खर्च नदिएपछि रिसाएर सुर्खेत आएका थिए। उनीहरु मुख्यमन्त्रीलाई भेट्न वीरेन्द्रनगर आएका हुन्।  तर मुख्यमन्त्रीसँग भेट्ने साइत नजुरेपछि राउटेको टोलीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी, सामाजिक विकास मन्त्री दल रावललाई भेटेका छन्।

मन्त्री केसीले मन्त्रालयमा कार्यक्रम नभएकाले व्यक्तिगत रुपमा राउटेलाई भुजा र विस्कुट दिएको बताइन्। मन्त्री केसीले सबै परिवारलाई एक-एक वटा भुजा र प्रतिव्यक्ति एक-एक वटा विस्कुट, त्यस्तै मन्त्री दल रावलले ४२ प्याक चामल र ४२ वटा कुखुरा किन्ने पैसा दिएका छन्। केही समयअघि सुर्खेतका लेखबेंशी-९ को गंगटेमा बस्दै आएका राउटेहरु ४२ घरधुरी र १ सय ४९ जनाको संख्यामा छन्।

नेपालसमयबाट