Loading... आजः २१ बैशाख २०८३, सोमबार । Monday 4th May 2026
ताजा खबर
  

कर्णालीको विकासको लागि क्रमभंगताको आवश्यकता छ : मुख्यमन्त्री शाही

सुर्खेत, ११ कार्तिक ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विकास योजना निर्माण गर्दा कर्णाली प्रदेशलाई प्राथमिकता दिन राष्ट्रिय योजना आयोगलाई आग्रह गर्नुभएको छ ।
राष्ट्रिय योजना आयोगद्धारा आइतबार वीरेन्द्रनगरमा आयोजना गरिएको दिगो विकास लक्ष्यमैत्री योजना, अनुगमण, मुल्याँकन तथा तथ्यांक सम्बन्धी प्रदेश स्तरीय क्षमता विकास कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री शाहीले विकासका दृष्टिले सवैभन्दा पछि रहेको कर्णालीलाई विकास योजनामा प्राथमिकता दिनुपर्ने वताउनुभयो ।
केन्द्रीकृत शासन प्रणालीका कारण पछाडि पारिएको कर्णालीको विकास र समृद्धिको लागि संघीयता आवश्यक परेको वताउदै मुख्यमन्त्री शाहीले योजना निर्माणमा परम्परागत शैली त्यागनुपर्ने वताउनुभयो । ‘कर्णालीको विकासका लागि क्रमभंगताको आवश्यकता छ’ मुख्यमन्त्री शाहीले भन्नुभयो – ‘संघीयताको मर्म वमोजिम योजना निर्माणमा क्रमभंगता गर्नुस, समृद्ध राष्ट्र निर्माणको लागि अवको प्राथमिकता कर्णालीको विकास हो ।’
मुख्यमन्त्री शाहीले राष्ट्रिय योजना आयोगसंग कर्णालीको तथ्याँक नरहेको गुनासो गर्नुभयो । ‘कर्णालीमा हामीले सम्भावना धेरै भएको कुरा गर्छौं, तर विकासको, समृद्धिको योजना बनाउने आयोगसँग अहिलेसम्म कर्णालीमा कहाँ के छ केही पनि तथ्यांक छैन’ उहाँले भन्नुभयो, ‘तथ्यांक विना नै कर्णालीको विकास कसरी सम्भव छ ?’
कर्णालीमा रहेको जलश्रोत, पर्यटन, जडीवुटी, र अर्गानिक कृषि लगायतका सम्भावनाहरुको व्यापक रहेको वताउदै मुख्यमन्त्री शाहीले राज्यको दायित्व भित्र परेका जनताका आधारभूत आवश्यकता पहिचान गर्न र त्यसको योजना बनाएर सरकारलाई दिन आयोगलाई सुझाव दिनुभयो ।
मुख्यमन्त्री शाहीले तिव्र विकासको जनअपेक्षा र भौगोलिक विकटताको कारण कर्णालीको विकासको लागि वाह्य लगानीको आवश्यकता पनि औंल्याउनुभयो । ‘केन्द्र सरकारको अनुदानले मात्र पुग्दैन’ उहाँले भन्नुभयो– ‘हामी विकासका दृष्टिले सवै प्रदेश भन्दा पछि छौं, त्यसैले पनि वैदेशिक लगानी भित्र्याउन केन्द्र सरकारले कर्णालीको लागि विशेष व्यवस्था गर्न जरुरी छ ।’
सरकारले चालु आर्थिक वर्षलाई योजना निर्माणको वर्षको रुपमा लिएको वताउदै मुख्यमन्त्री शाहीले आयोजना पहिचान, तथ्याँक संकलनमा सहयोग गर्न राष्ट्रिय योजना आयोगलाई आग्रह गर्नुभयो ।