Loading... आजः २३ बैशाख २०८३, बुधबार । Wednesday 6th May 2026
ताजा खबर
  

मयाराम स्मृति पार्क बन्दै

सुर्खेत
सहिद मयाराम रेग्मीको स्मृतिमा पार्क निर्माण हुने भएको छ । दैलेखको भगवतीमाई गाउँपालिकाले २० लाख बजेट बिनियोजन गरी उक्त पार्क निमाण गर्न लागेको हो । तर उक्त पार्क निर्माण गर्ने क्रममा मयाराम रेग्मीको जन्मथलो भगवतीमाई वडा नं. ३ मेहेलतोलीको सान्तडा भन्ने स्थानमा पार्क निर्माण गर्नु पर्ने वडा कार्यालयको निर्णय गाउँ कार्यपालिकाले लत्याइदिएको गुनासो वडापालिकाले गरेको छ ।

सम्बन्धित वडाका वडाअध्यक्ष दानबहादुर खड्काका अनुसार सान्तडामा बनाउने भन्दा भन्दै साविक कट्टी गाविसमा पर्ने स्थानमा उक्त पार्क बनाउन ठेक्काको काम शुरु भएको छ । गाउँपालिकाले अल्पमत र बहुमतको आधारमा आफूलाई हेपेको उहाँको गुनासो छ । आफूहरुको असहमति हुँदाहुँदै पनि कार्य अगाडि बढ्नु हेपाहा प्रबृत्ति भएको उहाँको भनाई थियो ।

यसैगरी वडासदस्य जयबहादुर खड्का भने वडा पालिकाले गरेको निर्णयलाई लत्याएर ठेक्काको काम अगाडि बढाउनु मेहेलतोलीका जनतालाई धोका दिनु भएको बताउनु हुन्छ । यदि मेहेलतोलीका जनताले साथ दिए भने विरोधका कार्यक्रम लिएर गाउँपालिकामा जाने र मेहेलतोलीमा नै पार्क निर्माण गर्ने वातावरणको सिर्जना गर्ने उहाँको भनाई छ ।

वडा न. २ का वडाअध्यक्ष कर्णबहादुर शाहीले भने कट्टीमा नभई गाउँपालिकाको केन्द्रमा बन्न थालेको बताउनु भयो । गाउँपालिकाको केन्द्रमा नै बनाउदा राम्रो हुने भएपनि जग्गा अभावको कारण खोला पारी बनाउन थालिएको शाहीको भनाई छ ।

यता भगवतीमाई वडा नं. ४ का वडाअध्यक्ष कृष्णबहादुर थापा भने गाउँपालिकामा भएको निर्णय अनुसार नै पार्क निर्माण हुन थालेको बताउनु हुन्छ । भोलीका दिनमा मेहेलतोली लगायतका अन्य स्थानहरुमा समेत पार्क वा शालिक निर्माण गर्न सकिने भएकोले निर्माण कार्यको प्रक्रिया शुरु भइसकेकोले विवाद सिर्जना गर्न उपयुक्त नभएको उहाँको भनाई छ ।

तर गाउँपालिकाका अध्यक्ष दान बहादुर थापा भने पार्क निर्माणका लागि उपयुक्त स्थान गाउँपालिकाको सदरमुकाम नजिकै रहेकोले साविकको कट्टि भएपनि तोकिएकै स्थानमा बनाउनु उपयुक्त रहेको बताउनु हुन्छ । गाउँ सभाबाट निर्णय भएकोले सहमतिको आधारमा काम अगाडि बढिरहेको उहाँको भनाई छ । गाउँपालिकाले तोकेको स्थानमा पार्क निर्माण गर्दा कसैले विरोधका आवाजहरु नउठाउने विश्वास व्यक्त गर्दै विकास निर्माणका कार्य गर्दा विरोध गर्न आवश्यक नरहेको उहाँको भनाई छ । बेस्तडा बजार नजिकै पर्याप्त जग्गा नभएकोले पनि हामीले खोला पारी पार्क निर्माण गर्न लागेका हौं र उक्त स्थान पर्यटकहरु समेत सजिलै पुग्न सक्ने स्थान हो अध्यक्ष थापाको भनाई छ ।

दैलेख निर्वाचन क्षेत्र नंं १ (क) बाट निर्वाचन प्रदेश सभा सदस्य धर्मराज रेग्मी भने गाउँपालिकाले छनौट गरेको स्थानमा असन्तुष्टि व्यक्त गर्नुहुन्छ । उहाँले भन्नुभयो, जुन ठाउँमा पार्कको निर्माण हुँदैछ त्यो ठाउँ पर्यटकीय हिसावले पनि उपयुक्त छैन । सहिद सबैका भएकाले जहाँ पनि पार्क निर्माण गर्न सकिन्छ तर उपयुक्त स्थानको छनोट गर्नु पर्दछ उहाँको भनाई छ । बाबियातडादेखि सान्तडासम्म उपयुक्त स्थान हेर्न सकिन्छ । तर गाउँपालिकाले कसरी त्यस्तो अपायक पर्ने स्थानमा पार्क निर्माण गर्दैछ उहाँले प्रश्न गर्नुभयो । उहाँ सहिद परिवारकै सदस्य भएकोले पनि मेहेलतोलीमा पार्क बन्ला भन्ने धेरैले आशा गरेका थिए तर सांसदले असन्तुष्टि मात्र व्यक्त गरेर उम्कन खोजिरहेको स्थानीय बिनोद शाही बताउनु हुन्छ । वडापालिकाले गरेको निर्णयलाई गाउँपालिकाले सुनुवाई नगर्नु भनेको उक्त वडाका बासिन्दाहरुको भावना माथि ठेस पु¥याउनु हो भन्नुहुन्छ भगवतीमाई वडा नं. ३ निवासी गंगाराम रेग्मी ।

मयाराम रेग्मीलााई २०१८ साल माघ २२ गते दैलेखको जिल्ला प्रशासन कार्यालय (तत्कालिन गौंडा) मा मारिएको थियो । उहाँले देशमा प्रजातन्त्रको स्थापना हुनुपर्छ भन्ने आन्दोलनमा सहादत प्राप्त गर्नुभएको थियो । प्रजातन्त्रको पुर्नस्थापना भएपनि मयारामको बारेमा खासै कसैले चासो भने देखाएका थिएनन् तर गणतन्त्रात्मक संघीय शासन प्रणालीको शुरुवातीसँगै सहिद मयारामको सम्झनामा स्मृति पार्कको निर्माण गर्न अघि बढ्नु सहिदको सम्मान हुनु हो ।