Loading... आजः ६ बैशाख २०८१, बिहीबार । Thursday 18th April 2024

पसल नै दर्ता नगरी सञ्चालन

कार्तिक १९, सुर्खेत ।

सुर्खेत सदरमकुाम वीरेन्द्रनगरमा पसल दर्ता नै नगरी सञ्चालन गरिरहेको पाईएको छ । जिल्ला संयुक्त बजार अनुगमन समिति सुर्खेतले सोमबार वीरेन्द्रनगरमा गरेको बजार अनुगमनका क्रममा यस्तो फेला पारेको हो । अनुगमन समितिले हटियालाईनसँग पिपिराचोकमा धेरैजसो पसलहरु दर्ता विना नै सञ्चालनमा रहेको पाईएको जनाएको छ ।


अनुगमन समितिका सदस्य तथा वीरेन्द्रनगर नगरपालिकाका बजार अनुगमन अधिकृत प्रकाश पौडेलले केही साना व्यवसायीहरुले दर्ता नै नगरी पसल सञ्चालन गरेको पाईएको जनाए । उनीहरुलाई ५ सय रुपैयाँ जरिवानासहित ७ दिन भित्र पसल दर्ता गर्न निर्देशन दिएको बताए । ‘हामी गहनरुपमा जनतालाई सुशासनको प्रत्याभूति हुने गरी बजार अनुगमनका खटिएका छौं,’ उनले भने, ‘सबै नागरिकको उपभोक्ता अधिकारको रक्षा गर्दे बजार स्वच्छरुपमा प्रतिस्पर्धीरुपले अघि बढाउन व्यवसायीलाई जिम्मेवार बनाउने काम भईरहेको छ ।’


हाम्रो बजार अनुगमन अभियानले कानून सम्बत क्रियाकलाप मार्फत नागरिकलाई अघि बढ्न मद्दत पुग्ने विश्वास उनको थियो । बजार अनुगमन समितिले मूल्य सूची नराख्ने ७ वटा पसललाई ५ सय रुपैयाँ जरिवानासहित ७ दिन भित्र मूल्यसूची राख्न निर्देशन दिएको छ । समितिले पिपिराका ३ वटा पसलबाट म्याद नाघेका करिब २० हजार मूल्य बरावरका विस्कुट, चकलेट र खाने वरामद गरि सोही स्थानमा नष्ट समेत गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उत्तम शर्माले जानकारी दिए ।

बजार अनुगमनमा खाद्य निरीक्षक भेषबहादुर थापा, प्रहरी सहायक निरीक्षक तेजबहादुर खड्का, पत्रकार र उपभोक्तावादीहरुको सहभागिता रहेको थियो ।