बाढी पीडित भन्छन् : हाम्लाई के को तिहार के को देउसीभैली ?
सुर्खेत २० कार्तिक ।
करिब आज भन्दा ५ वर्ष अगाडि २०७१ सालको साउन २९ गते सुर्खेतमा ठूलो बाढी आयो । जसका कारण ९ सय ७१ घरपरिवार बाढीबाट पीडित बने । भरखरै गएको दशैंमा अर्काको घरबाट मागेको जौ ले जमरा उमारेर दशैं मनाएका बाढी पीडितहरुलाई तिहारको रौनकले छुन सकेको छैन । न त उनीहरुका लागि देउसी भैलोको रौनक नै आएको छ न तिहारको झिलीमिली । केन्द्रिय सरकारदेखि प्रदेश सरकार र स्थानीय सरकारले समेत ठोस कार्यक्रम ल्याउन नसकेका कारण बाढी पीडितहरुको बसोबासमा अन्यौलता छाएको छ । जाडोमो समयमा शीत चुहिने पालमुनी न दशैं आएको थियो न तिहार नै आउँने छ भन्छन् कालीबहादुर शाही ।

प्रदेश सरकारका कानून मन्त्रीको संयोजकत्वमा १० सदस्यीय समिति समेत गठन भइसकेको छ । तर पनि त्यसले अहिलेसम्म केही गर्न नसकेको बाढी पीडितहरुको भनाई छ । समितिले बाढी पीडितहरुको समस्या समाधान समिति एक वर्ष भित्रमा दीर्घकालिन रुपमा यो समस्या समाधान हुन्छ भने पनि अहिलेसम्म केही प्रगति नहुनुले दुःख लागेको बाढी पीडितहरुको भनाई छ ।
चिसोको समयमा बच्चा, बृद्ध तथा सुत्केरी र गर्भवती महिलाहरु अझ धेरै समस्यामा परेका छन् । बच्चाहरुले राम्रो पढ्न नपाएकोमा पनि उनीहरु चिन्तित छन् । दशैं तिहार जस्ता पर्वहरुको रमाइलो बस्नलाई बास र खानलाई गास भएपछि मात्र आउँदो रहेछ उनीहरुले दुखेसो व्यक्त गरे । अहिले उनीहरु गिट्टी कुटेर, बालुवा निकालेर तथा दाउरा बेचेर जिविकोपार्जन गरिरहेका छन् ।






