Loading... आजः २० बैशाख २०८३, आईतवार । Sunday 3rd May 2026
ताजा खबर
  

छोरीको जन्मदिनमा १ लाखको ‘धर्म–पार्वती’ अक्षयकोष

कार्तिक २५, सुर्खेत ।

हाल अमेरिकामा बस्दै आएकी दैलेखकी चेली जयन्ति थापाले आफ्नी छोरीको जन्मदिनको अवसरमा १ लाखको अक्षयकोष स्थापना गर्नुभएको छ । उहाँकी छोरी सुजन चन्दको १८ औं जन्मदिनमा उहाँले सुर्खेतको वीरेन्द्रनगर १२ पदमपुरमा रहेको जनजागृत प्राथामिक विद्यालयमा १ लाखको चेक हस्तान्तरण गरी अक्षयकोष स्थापना गर्नुभएको हो । उहाँ अमेरिकामा रहनुभएकोले उहाँका पिता धर्मजंग थापा र माता पार्वती थापाले संयुक्त रुपमा चेक हस्तान्तरण गर्नुभएको थियो । उक्त विद्यालयमा रहेका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई शिक्षाआर्जनमा सहयोग पुग्ने उद्देश्यका साथ अक्षयकोष स्थापना गरिएको जयन्ति थापाले क्वीकखबरसँग बताउनु भयो । उक्त अक्षयकोषको नाम जयन्तिकी आमा पार्वती र बुबा धर्मजंग थापाको नामबाट ‘धर्म–पार्वती’ राखिएको छ ।

अक्षयकोषको लागि चेक हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले जयन्तिकी छोरी सुजनलाई शुभकामना व्यक्त गर्दै उहाँले गर्नुभएको कार्यको प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, ‘जन्मदिन, विवाह तथा अन्य कार्यहरुमा भोज खाएर रमाउनु भन्दा सामाजिक कार्यमा लगानी गरेर समाज परिवर्तनको क्षेत्रमा अगाडि बढ्नु स्रहानिय कार्य हो ।’


कार्यक्रममा वीरेन्द्रनगर नगर कार्यपालिकाका स्रोतव्यक्ति लोकबहादुर खत्रीले जयन्तिले गरेको कार्यले शिक्षा क्षेत्रमा अन्य व्यक्तिहरुलाई पनि सिक्ने अवसर प्रदान गरेको बताउनु भयो । यसैगरी वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ का वडाअध्यक्ष लोकप्रसाद चालिसेले राम्रा कार्यहरु गर्नका लागि गाउँमै बस्नु पर्ने नभएर मन भएपछि विदेशमा बसेर पनि आफ्नो गाउँ ठाउँको उन्नतीका लागि उदाहरणीय बन्न सकिने बताउनु भयो ।

छोरीको जन्मदिनमा शिक्षा क्षेत्रका लागि गरिएको यस कार्यले आफूलाई गौरवान्वित बनाएको र आफू निकै खुसी भएको जयन्तिका बुबा धर्मजंग थापाले बताउनु भयो । उहाँले भन्नुभयो, ‘उनको सानैदेखि समाजसेवामा लाग्ने इच्छा थियो जुन इच्छा पूरा गर्न उनले समाजमा उदाहरणीय कार्य गर्दै अगाडि बढाइरहेकी छिन् ।’ सानै उमेरबाट सहयोगी भावना बोकेकी भएकोले जयन्ति अहिलेपनि सहयोग गर्न लालायित भएको देख्दा निकै खुसी लागेको जयन्तिकी आमा पार्वती थापाले बताउनु भयो ।

जयन्ति थापाले आफ्नो गृहजिल्ला रुकुमसँगै दैलेख, सुर्खेत, जाजरकोट, कैलालीलगायतका जिल्लाहरुमा विपन्न बालबालिका, असहायलगायतलाई कहिले न्यानो कपडा त कहिलै शैक्षिक सामग्रीहरु वितरण गर्दै आइरहनु भएको छ । यसैगरी उहाँले विभिन्न जिल्लाका ८ जना बालबालिकाहरुको पढाइको जिम्मा समेत लिनुभएको छ ।

जयन्ति थापा जस्ता ठूलो मन र सहयोगी भावना भएका व्यक्तिबाट अरुहरुले पनि उदाहरणीय कार्य गर्न सिक्न आवश्यक छ । यस्तै उदार मन सबैको हुने हो भने शिक्षा क्षेत्र लगायत अन्य क्षेत्रमा समेत उदाहरणीय कार्य गर्न सकिन्छ ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो । पछिल्लो समयमा विदेशमा बसेर पनि समाजसेवामा लाग्नुभएकी जयन्ति थापाको यस कार्यको क्वीकखबर डटकम स्रहाना गर्दै उहाँकी छोरी सुजनलाई जन्मदिनको शुभकामना व्यक्त गर्दछ ।