Loading... आजः १६ बैशाख २०८३, बुधबार । Wednesday 29th April 2026
ताजा खबर
  

घ्वाच्च घोच्यो – व्यङ्ग्य

कुरो यतिबेला पनि कर्णाली प्रदेशकै छ हजुर । यो गरिब प्रदेशको कुरा उठाए पछि अलि धनि बनाउन सकिन्छ कि भन्ने यो हरिलठ्ठकको विचार हो । हाम्रा मुखियामन्तरीदेखि सामसदहरु अनि अर्थ र कोही अर्थ न बर्थका मन्तरीहरु समेत हिल्सामा पुगे । उता उत्तरतिरबाट छानछान र छुनछुन गर्नेहरु पनि आएका रहेछन् । हलिकोप्टरमा हल्लिदै हल्लिदै हिल्सामा पुगेकाहरुले हिल्सादेखि जमुनाहसम्म हिलाम्य हुने गरी बाटो बनाउने योजना लिएर हिल्सामा पुगेका रहेछन् । वर्षाको समय सकिसकेकाले चिसोले डल्लिएकाहरुलाई तहाँका मान्ठहरुले तातो हुने यति खादा खाँदे छन् कि कुरो नगरौ उनीहरु खादाको लोड धान्न नसकेर थिरै थिरै भइरहेका थिए । पछि हलिकोप्टरमा लोड धेरै हुने भएकोे ती खादा टरकमा पठाए पो भन्न सुन्यो त यो हरिलठ्ठकले । लु खतम ।

आफ्ना हातमा डाडस पन्यू भएको बेलामा आफ्ना भागमा जति धेरै पारेपनि हुन्छ भन्ने जानेका कर्णालीबासीहरु सहकारी मन्त्रालयले धेरै खायो भनेर रोइलो गरिरहेको यो हरिलठ्ठकलाई कत्ति चित्त बुझेको छैन । मनतरालयको नामै त सहकारी छ अनि सहकार्य गर्नु परेन त । आफ्ना कार्यकर्ताहरुसँगको सहकार्य, आफ्ना नातागोतासँगको सहकार्य अनि आफूलाई सहयोग गर्ने सँगको सहकार्य नगरे कहाँबाट उँभो लागिन्छ भन्ने नजानेका मुन्छे मन्तरी हुन्छन् त । कर्णाली प्रदेशमा सहकार्यको निकै खाँचो छ । सबैले हातेमालो गरेको खण्डमा मात्र मालामाल हुन सकिन्छ भनेर बारम्बार भाषण दिएर शासन गरेकाहरु छन् यहाँ । के मन्तरी एक पटक मात्र हुने हो र । फेरि मन्तरी हुन पर्दैन र यी अलि अलि जाने सुनेकाहरु पढेलिखेकाहरुले किन कुरो नबुझेका होलान् । सहकारी मन्तरालयको पैसो धेरै रुकुममा गयो भने गरेको रोइले देखेर छक्क परेको छ हरिलठ्ठक । फेरि सामसद जिताउ अभियानमा यो प्रदेशको राजधानीमा बसेकाहरु लागि दिने हुन् र रुकुम गएर । अहिले देउरानी जेठानी माइती आइतीहरुले नेतृत्व गरेको सहकारीमा सहकार्य गरे पो रुकुमबाट फेरि हुकुम बनेर इँटामा चिट्टा पार्न सकिन्छ त । नत्र आर्को चुनापमा वामदेव जस्तै रामदेव पुकार्दै कहिले दानवीरकोमा कहिले मानवीरको र कहिले जानवीरको गएर सल्लाह लिनु पर्ने अवस्था आउँदैन र । लु खतम ।

कर्णाली प्रदेशको पेरिफेरीमा घुमेको यो हरिलठ्ठकको दिमाग फेरि तुरन्तै संघीय राजधानीमा पुग्यो हजुर । किनकी उता सालीको चर्चा भइरहेको छ । साली भनेपछि कुन भिनाको मन अन्नपूर्णमा भएको हिउँ पग्ले जस्तै नपग्लियोस् हो । तन बुढो भएपनि मन बुढो कहिल्यै हुँदैन क्या यी लोग्नेमान्छेहरुको । हाम्रो देशका वर वरका मन्तरीहरुले त अलि अलि मौकामा चौका हानि हाल्छन् भने परधान मन्तरीले दुई तिहाइको सरकारको नेतृत्व गरिरहेका बेलामा सालीलाई राजदुत बनाए भनेर किन यति बिध्न अति बिति गरेका होलान् नि । यतिबेला सालालाई मेयर, सालीलाई राजदुत बनाउनु क्या ठूलो कुरो हो । खाली अर्काको खोइरो खन्न सिपालु छन् क्या नेपालीहरु । त्यत्तिकै बाटो खन्न सिपालु भएको भए हिड्न सजिलो हुने थियो । बाँझा खेत खन्न सिपालु भएको भए कृषिमा उन्नती हुने थियो । आफै त कहिले धोति न टोपी हुने हुन भन्ने ठेगान नभएका नेताहरुको खोइरो खनेको देखेर यो हरिलठ्ठकलाई फेरि एक पटक घ्वाच्च घोच्यो ऐया ऽऽऽऽऽऽऽ