Loading... आजः १२ भाद्र २०८३, शुक्रबार । Friday 28th August 2026

३५ वर्षदेखि सुन्तलाबाट परिवार पाल्दै

प्युठान

बँदेल, दुम्सी, मुसाको चिन्ता छैन । दिनहुँ हेरचाह, कुरालु, ज्यामी पनि चाहिँदैन तर सुन्तलाले मज्जाले परिवार पालेको छ । प्यूठान नगरपालिका–१० छेपानी निवासी ५८ वर्षीय रविलाल रोका मगरले परिवार पाल्नु परेन बरु पाखो डाँडाको सुन्तलाले ३५ वर्षदेखि पाल्दै आएको बताउनुहुन्छ ।

छेपानीमा रहेको पाखो जमीनमा लगाएको सुन्तला, कमलाबाट मनग्य आम्दानी भएपछि रविलाल रोकामगरले लामो समयदेखि आर्थिक सङ्कट भोग्नु परेन बरु सामाजिक क्षेत्रमा काम गर्ने अवसर मिल्यो । तीनभाइ छोरा र बुहारी, एक छोरी र उहाँको बच्चा गरी नौ जना परिवार रहेको उहाँको घरमा अहिले पाँच जना छन् । पाँच जना रहेको अहिलेको परिवार सुन्तला र कमलाको आम्दानीमा आश्रित रहेको उहाँले बताउनुहुन्छ । ६० वर्षपहिले रविलालका स्व बुबाले एक बोट सुन्तला रोप्नुभएको थियो । पछि ४० सालतिरबाट सुन्तलाको बोट बढाइयो । “२०१४ सालदेखिको बाबाले लगाएको बाबाको चिनो अहिले व्यवसाय बनेको छ,” कृषक रविलाल रोकामगरले भन्नुभयो, “हाम्रो परिवार पाल्ने यही सुन्तला, कमला हो ।”

रविलाल रोकामगरले अहिले आफ्नो नौ रोपनी पाखोमा ३४५ वटा सुन्तला रोप्नु भएको छ । करीब १५० बोटबाट राम्रो उत्पादन हुन्छ भने अन्य बोटबाट अर्को वर्षदेखि उत्पादन शुरु हुने उहाँले जानकारी दिनुभयो । रविलाललाई सुन्तलाको बजारको अभाव छैन् । बरु प्यूठानका नगरपालिकाका नगरप्रमुख अर्जुनकुमार कक्षपतिले आफ्नो बोटमा फलेको सुन्तला बजारसम्म पु¥याउने ढुवानी भाडा निःशुल्क पाउनुभएको छ । रविलालले एक वर्षमा करीब तीन लाख २० हजारको सुन्तला कमला बिक्री गरेको जानकारी दिनुभयो । “बजारमा त समस्या छैन्, थुप्रै साथी यही आउँछन्, केही मेला पर्वमा आफैँ लैजान्छौँ,” रविलालले भन्नुभयो, “मेयरले ढुवानीको व्यवस्था गरेपछि नाफा राम्रो हुन थालेको छ ।”

किसानले उत्पादन गरेको वस्तु गाउँघरमै सस्तो मूल्यमा बिक्री गर्नु परेकोले अधिक मूल्य लिन प्रोत्साहन हुने प्रमुख कक्षपतिले बताउनुभयो । उहाँले बेमौसमी रुपमा बिक्री–वितरण गर्न चिस्यान केन्द्र स्थापना गर्न पहल गरेको दाबी गर्नुभयो । ढुवानीको बन्दोबस्त मिलाएपछि पोहर सालभन्दा तेब्बर फलफूल बिक्री गरी राम्रो आम्दानी लिन पाउने भएको नगरप्रमुख कक्षपतिको भनाइ छ ।

 (रासस)