Loading... आजः १४ बैशाख २०८३, सोमबार । Monday 27th April 2026
ताजा खबर
  

श्रृंखला खतिवडाका दासहरुका नाममा

 विमल पोखरेल

पुँजीवादका मालिकहरुले फेसबुक र ट्वीटरमा मार्क्सवाद मान्नेहरुलाई दासको रुपमा उपयोग गर्न सफल भएको देख्दा चाहिं राम कार्की, घनश्याम भुसाल र समिर सिंहहरुले पढाएका १० हजार मार्क्सवादका विद्यार्थी कता गएहोलान् भनेर खोज्न मन लागेको छ ।) हरेक वर्ष मिस नेपाल भएका महिलाहरु विश्व सुन्दरी प्रतियोगितामा भाग लिन जाने गर्दछन् ।

विमल पोखरेल

नेपालमा केही वर्षपहिलेसम्म मिस नेपालको सडकमै धेरै विरोध हुन्थ्यो र चर्चा पनि उत्तिकै हुने गर्दथ्यो । मूलतः वामपन्थी महिला र विद्यार्थी संगठनले मिस नेपालको विरोध गर्ने गर्दथे । म आफैले लगातार चार वर्षसम्म बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रअगाडि सजाएर राखिएको गेट भत्काएको सम्झना ताजै छ । त्यतिबेला एउटा मात्रै मिस नेपाल हुन्थ्यो ।

अहिले विभिन्न नामका दर्जनौं सुन्दरी प्रतियोगिता हुने गर्दछन् । सडकमै नगए पनि मसाल निकट अखिल नेपाल महिला संघले सुन्दरी प्रतियोगिताको सैद्धान्तिक रुपमै निरन्तर विरोध गर्दै आएको छ । उसका प्रकाशनहरुमा पनि त्यो देखिन्छ । महिलाहरुलाई बजारको वस्तुसरह सजावट वा विक्रीको रुपमा उपयोग गरिने सुन्दरी प्रतियोगितालाई क्रान्तिकारी मार्क्सवादीहरुको त कुरै छोडौं नाम मात्रैको मार्क्सवाद मान्नेहरुले पनि विरोध गर्दै आएका थिए । तर अहिले केही क्रान्तिकारी देखिने र केही मार्क्सवाद मान्नेहरु श्रृंखला खतिवडाका दासको रुपमा प्रकट भएका छन् ।

मानौं श्रृंखला खतिवडा विश्व सुन्दरी भइन् भने नेपालमा मार्क्सवादले अझै धेरै फस्टाउने मौका पाउनेछ । महिला मुक्ति आन्दोलन अझै धेरै फस्टाउनेछ । सम्पूर्ण रुपमा कुसंस्कारहरु श्रृंखला खतिवडाले हटाउनेछिन् । मनमा मार्क्सवादको गन्ध भएका एमालेका केही साथीहरु त्यति धेरै देखिएका छैनन् । तर धेरैजसोले श्रृंखला खतिवडाको लागि भोट मागिरहेका छन् । कांग्रेसका समर्थकहरुले बरु त्यति भोट मागेका छैनन् । नेकपा नेताकार्यकर्ताले भोट गरिरहेको भनेर प्रचार गरिरहेका छन् ।

यस भन्दा पहिले यिनीहरु कसैले पनि यसरी भोट मागेका थिएनन् । तर यसपटक मागेका छन् । कुरा के हो भने श्रृंखला खतिवडा नेकपा नेता विरोध खतिवडाकी छोरी हुन् । विरोध नेकपा नेता भए पनि उनकी छोरी श्रृंखला सुन्दरी प्रतियोगितामा भाग लिन, मार्क्सवाद नमान्न वा मार्क्सवादको विरोध गर्न स्वतन्त्र छिन् । तर तिनीहरुदेखि अचम्म लागिरहेको छ कि मार्क्सवादका कट्टर हिमायतीहरुले नै जोडदार श्रृंखलाको प्रचार गरिरहेका छन् ।

घनश्याम भुसाल चाहिं के सोचिरहेका होलान् ? नेकपा नेता विरोध खतिवडाकी छोरीलाई त यति विधि भोट माग्ने र प्रचार गर्नेहरुले झलनाथ वा माधव नेपालकी छोरी भएदेखि झन् कति धेरै भोट माग्दा हुन् ? कुरा यहाँनिर छ । महिला संघ वा अनेरास्ववियुले एकातिर महिला मुक्तिको नारा पनि लगाउने, अर्कातिर श्रृंखला खतिवडालाई पनि जोडबल लगाएर भोट भाग्ने गरेपछि नेपाली जनताले कस्तो मार्क्सवाद बुझिरहेका होलान् । नेकपा नेताकार्यकर्तालाई लागिरहेको छ कि सायद अब निर्मला पन्तको बलात्कार विरुद्धको आन्दोलनको नेतृत्व पनि तिनैले गर्नेछिन् । तिनैले सबैभन्दा ठूलठूला समाजसेवाका काम गर्नेछिन् । अझै अगाडि बढेर यसो भन्न सकिन्छ कि उनले महिला मुक्ति आन्दोलनकै नेतृत्व गर्नेछिन् । अब नेकपा कार्यकर्ताले भन्नेछन् देशभर २४ जना महिलाबाट मात्रै होइन कि हजारौंहजार महिलाको बीचबाट मिस नेपाल छनौट हुनुपर्छ भनेर रत्नराज्यलक्ष्मी क्याम्पसबाट अनेरास्ववियुले जुलुस निकाल्नेछ ।

महिला संगठनले भोट माग्दै काठमाडौंका गल्लीगल्ली चहार्नेछ । अहिलेको तामझाम हेर्दा त्यस्तै देखिंदै गएको छ । श्रृंखला खतिवडा र उनलाई एक वर्षसम्म अनुबन्ध गरेका पुँजीवादका मालिकहरुले फेसबुक र ट्वीटरमा मार्क्सवाद मान्नेहरुलाई दासको रुपमा उपयोग गर्न सफल भएको देख्दा चाहिं राम कार्की, घनश्याम भुसाल र समिर सिंहहरुले पढाएका १० हजार मार्क्सवादका विद्यार्थी कता गएहोलान् भनेर खोज्न मन लागेको छ ।

(लेखक अखिल (छैठौं )का केन्द्रीय अध्यक्ष हुनुहुन्छ ।)