बालविवाहले जीवन नै बरबाद हुन्छ : ढकाल
मंसिर २० सुर्खेत ।
वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले बालविवाहले जीवन नै बरबाद हुने बताउनु भएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत भएको अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै उपप्रमुख ढकालले भन्नुभयो, ‘कर्णालीका अधिकांश महिलाहरु हिंसाको शिकार भएका छन् । हिंसाको कारणले उनीहरुको मानसिक तथा शारीरिक रुपमा समेत असर पर्ने भएकोले महिलाले चाहे अनुसारको काम गर्न सक्दैनन् । हिंसा कम गर्नका लागि महिलालाई आर्थिक तथा शैक्षिक रुपमा सम्पन्न बनाउनु पर्छ । साथै सूचना र प्रविधिको सही सदुपयोग गर्न नसकेमा पनि महिलाहरु हिंसामा पर्दछन् ।’ महिला हिंसा कम गर्नका लागि छोरीलाई मात्र होइन छोरालाई समेत सचेत बनाउन जरुरी रहेको बताउँदै हिंसामुक्त समाज निर्माण अरु कोही आएर नगर्ने भएकोले हामी आफैले त्यसका लागि एक भएर लाग्न आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका महिला शाखा प्रमुख जमुना पौडेलले भन्नुभयो, ‘संविधान र कानूनमा अधिकार भएर मात्र हुँदैन त्यसलाई व्यवहारमा समेत उतार्नु पर्दछ ।’ उहाँले थप्नुभयो, ‘कानून नमान्नु अपराध हो । नीति नियम हुँदा पनि हिंसाका घटनाहरु हुने भएकोले घर र समाजबाटै यसलाई न्यूनिकरण बनाउँदै लैजानु पर्छ र हामी एक दिन महिला हिंसा मुक्त समाजको निर्माण गर्न सक्छौ ।’






