भ्रष्टाचार विरुद्धको महाअभियान हो ‘१०० कडा १०’
मंसिर २२ सुर्खेत ।
नेपाली कथानक चलचित्र १०० कडा १० का निर्माता रज्जु प्रधानले यो चलचित्र भ्रष्टाचार विरुद्धको महाअभियान भएको बताउनु भएको छ । कुनै पनि व्यक्तिले अनैतिक तरिकाले जम्मा गरेको सम्पत्ति भोली गएर १० गुणा बढि तिर्नु पर्ने अवस्था आउने भएकोले कसैले पनि ष्टाचारतर्फ सोच्नै नहुने बताउनु भयो । लक्ष्मी चलचित्र मन्दिर सुर्खेतमा आयोजना भएको पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनु भएको हो । उहाँले भन्नुभयो, ‘जीवन, सुख, दुःख, माटो, अनि हाम्रा कला र संस्कृतिलाई नै यथार्थतामा उतारेर फिल्मको निर्माण गर्नु पर्दछ र हामीले त्यसै गरेका छौं । त्यसैले पनि यस फिल्मले सन्देशात्मक ढंगले आफ्नो बजारमा निर्माण गर्नेमा हामी ढुक्क छौ ।’

राजाराम पौडेल र मनोज गजुरेलको मुख्य भूमिका रहेको १०० कडा १० चलचित्रमा करुणा श्रेष्ठ, अमृत ढंगाना, उत्सव न्यौपाने, सोनिया राई लगायतका कलाकारहरुको प्रस्तुती रहेको बताइएको छ । पोखरा, पाँचथर लगायतका स्थानहरुमा छाँयाङ्कन गरिएको १०० कडा १० हेर्दा दर्शकहरुले सन्देशसँगै मनोरञ्जन प्राप्त गर्ने विश्वास सहनिर्माता मनोज निरौलाले जानकारी दिनु भयो ।

१ करोड ६० लाख लागतमा निर्माण भएको उक्त चलचित्रका निर्देशक रामशरण पाठकले भन्नुभयो, यो चलचित्र हेरेपछि मान्छेलाई भ्रष्टाचार गर्नु हुँदैन यसले व्यक्ति, परिवार र समाजलाई समेत कस्तो असर पार्दछ भन्ने चेतनाको विकास हुने बताउनु भयो । उहाँले थप्नुभयो, ‘भ्रष्टाचारको कारण उसको प्रतिष्ठामा कस्तो पर्दछ र उसको परिवारले खेप्नु पर्ने नकारात्मक अवस्थाको बारेमा जानकारी हुनेछ । जसका कारणले भ्रष्टाचार गर्दा जो कोहीले एक पटक सोच्न बाध्य हुनेछ ।’ आउँदो माघ १८ गतेदेखि संचालन हुने यो चलचित्र हास्य चलचित्र रहेको पत्रकार सम्मेलनमा बताइएको थियो ।







