Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

अझैं गुटबन्दीमा अल्झिदैँ काँग्रेस

नेपाली राजनीतिको इतिहासमा नेपाली काँग्रेसको नाम धु्रबतारा जस्तै छ । धर्मशान्त्र र पौराणिक कथाहरुमा जसरी धु्रबताराको वर्णन गरिएको छ त्यसैगरी नेपाली राजनीतिको वर्णन गर्ने क्रममा नेपाली काँग्रेसको नाम वर्णन गर्न कोही कसै हिच्किचाउनु पर्ने अवस्था छैन । २००७ सालको प्रजातन्त्रको स्थापनाका खातिर लडेको काँग्रेस र आजको काँग्रेसमा फरकता कहाँबाट आयो यो सोचनीय विषय हो । नेपाली जनताले बारम्बार काँग्रेस लाई विश्वास गरेकै हुन् । दुई तिहाई बहुमतसम्म दिएर नेपाली काँग्रेसलाई देशमा सत्ता संचालनको अधिकार दिएका नेपाली जनता पछिल्लो समयमा किन वामपन्थीहरुसँग नजिक भए यसको विश्लेषण नेपाली काँग्रेसका नेतृत्वदेखि भातृसंगठन र त्यसका शुभचिन्तकहरुले सम्म गर्नुपर्ने अवस्था आएको

छ । विपी कोइरालाले प्रतिपादन गरेको काँग्रेसको सिद्धान्तलाई पछिल्लो समयमा इतिहासका पानाहरुमा सिमित राखेर आफ्नो स्वार्थका लागि जे पनि गर्न खोज्ने नेताहरुको विकास भइसकेपछि आज काँग्रेसले यो हविगतको सामना गर्नु परेको तथ्य सबैलाई अवगत नै छ । प्रजातन्त्रको पुर्नस्थापना गर्दाका बखत काँग्रेसले खेलेको भूमिका पनि कम छैन । तर आफ्नै पार्टीको सरकारलाई गिराउने खेल खेलेका कारण २०५१ को मध्यावधि निर्वाचनमा तत्कालिन एमालेले अल्पमतको सरकार निर्माणको अवसर प्राप्त गरेको हो । त्यही अल्पमतको सरकारले गरेको निर्णयहरुले गर्दा आज पनि काँग्रेसलाई जनताबाट बिमुख बनाउने एमालेको अचुक चक्र बनेको छ । तत्कालिन प्रधानमन्त्री मनमोहनले ल्याएको आफ्नो गाउँ आफै बनाऔं र बुद्धहरुलाई भत्ताको व्यवस्थाको मुद्दालाई आज पनि एमालेले भजाएर त्यसको व्याज खाइरहेको यो काँग्रेसलाई पनि राम्रोसँग जानकारी छ । यति हुँदाहुँदै पनि काँग्रेसको राजनीति गर्ने नेतादेखि कार्यकर्ताहरुसम्म अझै पनि गुटको राजनीतिबाट माथि उठ्न सकेका छैनन् ।

साँच्चिकै भन्ने हो भने दरबारको छत्र छायाँपनि थियो काँग्रेस माथि । तर माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने र आफू देशको राष्ट््रपति हुने र राजा ज्ञानेन्द्र बसेको सिंहासनमा विराजमान हुने दुष्सपना जब गिरिजाबाबुका दिमागमा आयो तब काँग्रेसका दुर्दशा शुरु भए । राजा बिनाको काँग्रेस र काँग्रेस बिनाको राजा अधुरो हुन्छ भनेर बिपीले भनेको कुरालाई गिरिजाले चटक्क भुलेर आफू राजाका स्थानमा बस्ने योजना बनाएपछि जनताको चाहनालाई बुझेर वा बाध्यतामा परेर ज्ञानेन्द्रले नारायणहिटी छोडिदिए । तर सत्ता कब्जाको खेलमा लागेको तत्कालिन माओवादीले गिरिजालाई त्यो स्थानमा पुग्नै दिएन । जसको कारण पहिला संविधान सभाले संविधान निर्माण गर्न सकेन र अर्बौ खर्चेर दोस्रो संविधान सभाको निर्वाचन गर्नु परेको इतिहास त्यत्ति धेरै पुरानो भइसकेको छैन । यो अवस्थामा आइपुग्दा सम्म पनि काँग्रेसप्रति नेपाली जनताले जुन आशा र भरोसा गरेका थिए त्यसमा डगमगाहट आएको थिएन । तर राजनीतिक भन्दा पनि व्यक्तिगत स्वार्थका कारण जब शेरबहादुर देउवा चितवनमा प्रचण्ड पुत्रीका लागि भोट माग्न पुगे तब काँग्रेस प्रति विश्वास गर्ने सर्वसाधारणको मनमा भुकम्प गयो । हिजो टाउकोको मोल तोक्नेहरुलाई आज देउवाले भोट माग्नु भविष्यमा नेपाली जनताका विरुद्धमा जुनसुकै निर्णयहरु पनि हुन सक्छन् भन्ने संकेतको रुपमा सहजै बुझे । नभन्दै वर्तमान सरकार निर्माणका लागि भएको आम निर्वाचनमा त्यसको परिणाम देखियो र वाम गठबन्धन पार्टी एकता गर्ने गरी एक भएर जनताका सामु उभियो ।

प्वाँख पलायो भने कमिलो मर्छ भने झैँ उता वाम गठबन्धनले स्थिर सरकारको नारा लगाईरहेको बेला यता काँग्रेस गुटको राजनीतिमा अल्झियो । संसदको टिकट बाँड्नका लागि देउवा गुट र पौडेल गुटका बीचमा मनमुटाव हुन थाल्यो तब त्यो भाइरस काँग्रेसलाई मतदान गर्ने शुभचिन्तकहरुसम्म पुग्यो । त्यसपछि वाम गठबन्धनको हावा लागेको बेलामा दुई तिहाइ मत वाम समर्थकहरुको पोल्टामा परेको हो । तर आज पनि काँग्रेस त्यही गुटबन्दीमा रुमलिरहेको छ ।

विश्वको एक मात्र हिन्दु राज्यलाई धर्म निरपेक्ष बनाउने सबै भन्दा ठूलो हात काँग्रेसको हो । कम्यूनिष्टका नाममा धर्मलाई अफिम सम्झनेहरुले धर्म निरपेक्षताको प्रस्ताव ल्याउनुलाई अन्यथा मान्नु हुँदैन । तर आफ्नो स्वार्थसिद्धि गर्नका लागि काँग्रेसले हो मा हो मिलाएर हिन्दु धर्म माथि गरिएको प्रहार सम्पूर्ण हिन्दुवादीहरुले राम्रोसँग बुझेका छन् । निरंकुशताका नाममा राजालाई पाखा लगाएर जनताको मन जितेर आफैले राजाको स्थानमा बसेर सत्ताको हालिमुहाली मात्र होइन देशको धर्मलाई समेत नालीमा फालिदिनु काँग्रेस माथि राहु ग्रहले घेरा हाल्नु हो ।

आज एउटा उद्योग वाणिज्य संघको निर्वाचनमा होस् वा आफ्नै पार्टीको भातृ संगठनको निर्वाचनमा होस् कम्यूनिष्टहरुसँग गुहार माग्नु पर्ने अवस्थाको सिर्जना कसले गरेको हो ? खानेपानीका स्किम निर्वाचनहरुमा २ भोटका लागि त्राहिमाम गर्नु पर्ने अवस्थाको सिर्जना कसरी भएको हो ? देशका सात वटै प्रदेश सरकारमा काँग्रेस शुन्य हुने अवस्थाको सिर्जना कसले गरेको हो ? यी यावत प्रश्नहरुको उत्तर खोज्नका लागि महासमितिको बैठक हुनुपर्नेमा गुटबन्दीको राजनीति गर्नका लागी महासमितिको बैठक बिबिसी नेपाली सेवाको साझा सवालको झझल्को दिने गरी संचालन भयो । यो भन्दा लज्जास्पद कार्य के हुन सक्छ ।

प्रजातन्त्रको पुर्नस्थापना पश्चात बारम्बार सत्ता पक्ष बनेको बेलामा मह काट्दै हात चाट्दै गरेका कारण गुटको सिर्जना भएको हो । त्यही गुट नामक जिवाणुले यो हविगत बनाईसक्दा पनि काँग्रेसमा चेतनाको विकास हुन सकेन जसका लागि स्थानीयस्तरमा भएका काँग्रेसका मतदाताहरु अब के गर्ने भन्ने बारेमा चिन्तित छन् । हुन त कम्यूनिष्ट भित्रपनि गुट, उपगुट, महागुट नभएका होइनन् । तर उनीहरुले जनतामा प्रत्यक्ष प्रभाव पार्न सक्ने नारा खडा गरे । गुटको राजनीति ाहिरसम्म आउन दिएनन् । कम सकस छैन वाम गठबन्धनलाई पनि । हिजो बन्दुक बोकेर प्राण दिन तयार भएकाहरु आज गृहमन्त्रीको अगाडि आत्महत्याको प्रयास गरिरहेका छन् । सानो पीडाले उनीहरु त्यसो गरिरहेका छैनन् । तरपनि उनीहरुका बाहिर देखाउने र भित्र चपाउने दाँत फरक फरक निर्माण गरिरहेका छन् । तर काँग्रेसले भने देखाउनका लागि त के चपाउनका लागि समेत दाँतको सुरक्षा गर्न नसकेको अवस्था छ । त्यसैले बेलैमा हिन्दु राष्टको नारा बोकेर नेपाली जनताका शरणमा परेर काँग्रेस आफ्नो साख जोगाउनतिर लागोस् र छोडोस् गुटबन्दीको राजनीति ।