Loading... आजः १४ बैशाख २०८३, सोमबार । Monday 27th April 2026
ताजा खबर
  

सरकार, अभियुक्तलाई सपथ किन ? सांसदलाई जेल किन ?

पौष १९ गते, बिहिबारको दिन । नेपाली राजनीतिक इतिहासमा विश्वमै नभएको एउटा नयाँ घटना भयो । प्रजातान्त्रिक शासन प्रणाली अपनाउने विश्वका कुनै पनि देशले अभियुक्तलाई सांसद पदको सपथ खुवाएको इतिहास छैन । तर त्यो इतिहासको निर्माण दुईतिहाइको बहुमत प्राप्त गरेको नेपाल सरकारले रचेको छ । २०७२ सालको भदौमा एक नावालक सहित ७ जना प्रहरीको ज्यान जाने गरी कैलालीमा भएको घटनाका मुख्य योजनाकार भनेर चिनिएका र पूर्पक्षका लागि थुनामा रहेका रेशम चौधरीलाई निर्वाचन भएको एक वर्षपछि सपथ खुवाइएको छ । जेलबाट निकालेर सपथ खुवाउने र फेरि उनलाई सिधैँ जेल पठाउने सरकार प्रति नेपाली जनताले धिक्कारिरहेका छन् ।


यदि रेशम चौधरीलाई निर्वाचन भएको एक पछि सपथ गराउनु थियो भने उनले निर्वाचन जितिसकेपछि के हेरेर बसेका थिए यिनीहरुले । अदालतले फैसला नगर्ने बेलासम्म रेशम चौधरी अपराधी होइनन् अभियुक्त मात्रै हुन् भन्ने कुराको ज्ञान थिएन त्यतिबेला । यदि त्यस्तो ज्ञान नै थिएन भने यिनीहरु किन देशको शासन सत्ता हाँक्नका लागि तयार भएर आएका हुन् त । कस्तो बुद्धिमानी रहेछन् हाम्रो देश हाँक्नेहरु ?

दुई तिहाइको दम्भमा अडिग नेपाल सरकारलाई समग्र नेपाली जनताले प्रश्न गरिरहेका छन्, ‘सरकार अभियुक्तलाई सपथ किन र सपथ पछि सांसदलाई जेल किन ?’ यो सरकारका अन्धभक्तहरु बाहेक अन्य सबै नेपाली जनताको प्रश्न हो । सभामुख जस्तो उच्च गरिमामय पदमा बसेको व्यक्तिले एउटा अभियुक्तलाई सांसदको सपथ ग्रहण गराउँछ र संघीय संसदको लोगो प्राप्त गरेको एउटा साँसद सपथ ग्रहण पश्चात पुनः जेलतिर लाग्छ । यो भन्दा ठूलो अभिसाप, यो भन्दा ठूलो मानमर्दन, यो भन्दा ठूलो बेइज्ज्त, यो भन्दा ठूलो लज्जास्पद अरु के हुन सक्छ । यस कार्यले यो सरकारलाई लागेको कलंक इतिहासको कुनै पनि पानामा कुनै पनि मोडमा मेटिने छैन । किनकी रेशम चौधरीको सपथसँगै रोइरहेको छ त्यो नाबालकको आत्मा । चिच्याइरहेका छन् ती सुरक्षाकर्मीहरुको आत्मा । इतिहास जित्नेहरुकै लेखिन्छ भन्थे हो हरेछ आज फेरि एक पटक लेखिएको छ रेशम चौधरीको इतिहास । किनकी उनले २०७४ को निर्वाचन जितेका थिए ।

जित्नेहरुले सधैँ जित्दैनन् । हार्ने दिन पनि आउन सक्छ । भोलि अदालतले उनलाई दोषि ठहर गर्दै फैसला सुनायो भने हार्नेछन् एक पटक रेशम चौधरी र हार्नेछ दुईतिहाईको सरकारले । कुनै दिन बाइसे चौबिसे राज्य जित्ने पृथ्वीनारायण शाह हारेका जस्तै भएका छन् आज । पल्टाउन सकेको छैन यो सरकारले उनका इतिहासका पानाहरुलाई । पृथ्वी जयन्तिमा सार्वजनिक विदा दिन कन्जुस्याँई गर्ने यो सरकारले दीपक मनाङेहरुलाई जेलबाट निकाल्न सक्छ । रेशम चौधरीलाई सपथ दिलाउन सक्छ र बालकृष्ण ढुंगेललाई आममाफी दिन सक्छ ।

नेपाली राजनीतिको विगतको इतिहासलाई एउटा कुनामा राखेर नयाँ इतिहासको निर्माण भइरहेको छ । नेपाल एकिकरण गर्दाको इतिहास आज मेटाएन खोजिदैछ । बिर्सिन खोजिदैछ नेपाल एकिकरणको इतिहास अनि अंग्रेजहरुसँगको लडाईको इतिहास । बाइसे चौबिसे राज्यहरुलाई एक बनाएर अहिलेको विशाल नेपाल निर्माण गर्नु गल्ती थियो पृथ्वीनारायण शाहको ?

नेपाली राजनीतिको इतिहासको यो कालखण्डमा कम्यूनिष्टहरुले दुई तिहाइको सरकार निर्माण गर्ने अवसर प्राप्त गरे । २०४६ सालमा तत्कालिन राजा वीरेन्द्रले प्रजातन्त्रको घोषणा गरेपछि भएका निर्वाचनमा देशमा नेपाली काँग्रेसको नेतृत्वमा बहुमतका सरकार निर्माण नभएका होइनन् । तर काँग्रेसको गुटबन्दीले ती सरकारहरु पूरा अवधि चल्न सकेनन् । जसको फलस्वरुप देशमा कहिले मध्यावधि त कहिले आम निर्वाचन भइरह्यो । काँग्रेसको आन्तरिक कलहका कारण कम्यूनिष्टहरु बढि सक्रिय हुन पुगे । राजनीतिमा यस्तो हुने गर्दछ । यसलाई स्वभाविक रुपमा लिनु पर्दछ । जसका कारण देशले स्थिर सरकार पाउन सकेन् । जसले गर्दा देशले पाउनु पर्ने भौतिक विकास र जनताले पाउनु पर्ने मानसिक र सामाजिक विकास पछाडि प¥यो । अनि इतिहासकै पाना पल्टाउने हो भने निकै कहाली लाग्दो माओवादी जनयुद्धको शुरुवात भयो । जसले गर्दा देशलाई १० वर्ष पछाडि मात्र धकेलेन देशमा भएका भौतिक संरचनाको ध्वस्त पार्ने काम ग¥यो ।

माओवादीलाई शान्ति प्रक्रियामा ल्याई सकेपछि भएको संविधान सभाको निर्वाचनमा उसले देशको ठूलो पार्टीको रुपमा आफूलाई स्थापित गर्ने अवसर प्राप्त ग¥यो । डर, त्रास वा आशा जुनसुकै कारण भएपनि जनताले माओवादीलाई मतदान गरेकै हुन् । त्यसपछि प्रचण्डको सत्ता कब्जाको शैलीले उनले प्रधानमन्त्रीको पदबाट हात धुनु परेको थियो । तर समय चक्र घुम्ने क्रममा दुई ठूला कम्यूनिष्ट पार्टीहरु एक भएर निर्वाचनमा होमिए । स्थिर सरकारको नाराबाट नेपाली जनता प्रभावित भए । कारण अस्थिर सरकारले देशमा भने जस्तो विकास निर्माणका कार्यहरु गर्न सकेको थिएन । नेपाली जनताले कम्यूनिष्टहरुलाई झण्डै दुई तिहाइको मत दिए । अनि दुई तिहाइ पु¥याउने रहरले वर्तमान प्रधानमन्त्रीले राजपा समेतलाई सरकारमा सहभागी गराए उनी नेपाली इतिहासमै दुई तिहाई सांसदको समर्थनको सबै भन्दा बलियो प्रधानमन्त्री बने ।

इतिहासकै सबै भन्दा बलियो सरकार र नाकाबन्दीको समयका राष्ट्रबादी प्रधानमन्त्री भएकोले देशले विकासको गतिसँगसँगै नूनदेखि कानूनसम्म सहजता आउला भनेर नेपाली जनताले निकै ठूलो आशा गरेका थिए । तर यो सरकारले नेपाली जनताको आशामाथि तुषारापात मात्र गरेन नेपाली जनतालाई अपराधि सांसदको जनता बनायो । तिनै अपराधि सांसदको सरकार बन्न पुग्यो आफू र इतिहासकै कलंकित कार्यको शुरुवात ग¥यो । जसले गर्दा राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा नेपालीको शीर एक पटक लज्जाले झुक्न बाध्य भएको छ । हदै गर्नुको पनि हद हुन्छ । हद नाघेर हद गरियो भने बध हुन्छ । यो कुरा अहिलेको सरकारले ख्याल गर्नै सकेको छैन ।

अदालतले दोषी ठहर गरी जन्मकैदको फैसला सुनाएपछि कारागारमा कैद भुक्तान गरिरहेका बालकृष्ण ढुंगेललाई आम माफी दिएर बाहिर ल्यायो । त्यसै दिन लागिसकेको थियो वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको निधारमा कालो टीका । इतिहासकै सबै भन्दा भ्रष्ट सरकारको रुपमा रहेको यो सरकारले राज्यको ढुकुटीको कति दोहन गरेको छ त्यसको लेखाजोखा त राज्यको लेखा समितिले पनि स्पष्ट राख्न सकेको छैन होला । बिमान खरिद प्रकरणले चरम उत्कर्ष लिइरहेको बेलामा भ्रष्टहरुलाई बचाउने कार्यमा लागिरहेको यो सरकार अहिलेसम्म बनेका सरकारहरु मध्येको सबै भन्दा नालायक सरकार हो भन्नु अतियुक्ती नहोला ।

वाइड बढी खरिद प्रकरणमा उपसमितिले बुझाएको प्रतिवेदनलाई समितिले हेर्ने अनि त्यो पनि भएन भने अख्तियारलाई जिम्मा दिनुको सट्टामा पुर्व न्यायधिसको जिम्मा लगाएर आफ्ना चेता कार्यकर्ताहरु चोख्याउने खेल नेपाली जनताका लागि राष्ट्रघाती नै हो । अनेकन बहाना बनाएर उनीहरुलाई चोख्याउनु भन्दा तथ्यतथ्य पत्ता लगाउने जिम्मा अख्तियारलाई दिन नसक्नु तिमीहरुको नियत राम्रो होइन भन्ने स्पष्ट छ । सरकार, बाँसमा फूल फुल्नु, कमिलाको प्वाँख पलाउनु अशुभ संकेत हुन् ।