आंगिक क्याम्पसका शिक्षकहरु अनिश्चितकालिन धर्नामा
पौष २० सुर्खेत ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय अन्र्तगतका आंगिक क्याम्पसका शिक्षकहरु अनिश्चितकालिन धर्नामा बसेका छन् । त्रिविविसँगको सम्बन्धन तोडिसकेपछि मध्यपश्चिमाञ्चल विश्वविद्यालयले आफूहरुलाई नियुक्ती र तलब नदिएकोले नियुक्ती र तलबका लागि उनीहरु भर्नामा बसेको आंगिक क्याम्पस समायोजन संघर्ष समितिका संयोजक शेरबहादुर रायमाझीले जानकारी दिएका छन् । विश्वविद्यालयले आफूहरुमो मात्र नभई हजारौ विद्यार्थीहरुको भविष्यलाइ समेत अन्यौलमा पारेकोले आफूहरु बाध्य भएर भर्ना बस्नु परेको संयोजक रायमाझीको भनाई छ । झुक्याएर हाम्रो भविष्य माथि खेलवाड गर्ने कार्य गरेको, उपकूलपतिले ‘हुन्छ’ भन्ने गरेको तर काम नगर्ने गरेकोले शैक्षिक क्षेत्रमा अध्ययन अध्यापन गर्नु पर्नेमा धर्नामा बस्नु परेकोले दुःख लागेको नरेन्द्र आचार्यले बताए ।
विश्वविद्यालयले तल्काल नियुक्ती दिनु पर्ने, सम्पत्ति हस्तान्तरण गरी क्याम्पस समायोजनको सम्पूर्ण प्रक्रिया पूरा गरिओस् भन्ने उनीहरुले माग राखेका छन् । १० वटै आंगिक क्याम्पसका शिक्षकहरु संलग्न रहेको एक संघर्ष समिति गठन गरी आफ्ना मागहरु पूरा गर्न उनीहरु वीरेन्द्रनगर सुर्खेतमा भेला भएका छन् । उनीहरुले आफ्ना माग पूरा नभएसम्म पठनपाठन त जुनसुकै अवस्थाको सामना गर्न पनि तयार रहेको बताएका छन् । आंगिक क्याम्पसहरुमा पठनपाठन सञ्चालन भएको पाँच महिना भईसक्दा पनि शिक्षक कर्मचारीहरुले तलव नपाएकोमा संमितिका संयोजक शेरबहादुर रायमाझीले चिन्ता व्यक्त गरे ।
हालसम्ममा आंगिक क्याम्पसका सम्वन्धमा मप विश्वविद्यालयको सिनेट (सभा)बाट सम्बन्धित दशवटा आंगिक क्याम्पस बनाउने नीतिगत निर्ण भई नेपाल सरकारबाट बीस करोड रुपैया बजेटको व्यवस्था भईसकेको छ । सम्बन्धित दशवटा आंगिक क्याम्पसकालागि विश्वविद्यालयबाट २०३ दरबन्दी युजीसी बोर्ड बैठकबाट पास भई शिक्षा मन्त्रालय हुँदै अर्थ मन्त्रालयबाट स्वीकृत भई नेपाल सरकार मन्त्री परिषद्बाट निर्ण भइसकेको संघर्ष समितिका संयोजक रायमाझीले जानकारी दिए । संघर्ष समितिका संयोजक रायमाझीले भने, ‘शिक्षक भएको नाताले आन्दोलन शान्तिपूर्ण गर्छौ तर माग पूरा गराएरै छाड्छौ ।’
नेपाल सरकारको निर्णयलाई कार्यान्वयन गर्न मप विश्वविद्यालयलाई युजीसीले परिपत्र गरिसकेको, सम्बन्धित दशवटा क्याम्पसलाई आंगिक बनाउने प्रक्रिया अनुरुप मप विश्वविद्यालयको तर्फबाट अर्को व्यवस्था नभएसम्मकालागि क्याम्पस प्रमुख नियुक्ती, प्रवेश परिक्षा गराई विद्यार्थी भर्ना, पठनपाठन सुचारु गर्न परिपत्र समेत भईसकेको रायमाझीले बताए ।








