Loading... आजः १४ भाद्र २०८३, आईतवार । Sunday 30th August 2026

बिमला अधिकारी देवकोटाको मनको किनाराको विमोचन

काठमाडौँ
गीतकार तथा मुक्तककार बिमला अधिकारी देवकोटाको पहिलो मुक्तकसङ्ग्रह मनको किनारा बजारमा आएको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल, समालोचक युवराज मैनाली, प्राज्ञ डा खेम बन्धु कोइराला, साहित्यकार डा विधान आचार्य, नियात्राकार प्रतिक ढकाल लगायतले संयुक्त रुपमा पुस्तकको लोकार्पण गर्नु भयो ।

पुस्तक लोकार्पण समारोहमा बोल्दै गजलमाली ज्ञानुवाकर पौडेले ज्यादै व्यस्त गृहिणी भएर पनि मुक्तक र गीत सृजनाप्रति बिमलाको सहभागिता लोभलाग्दो रहेको बताउनु भयो । साहित्यिक कार्यक्रमहरूमा बिमलाले देखाएको सक्रियता र उत्साह आम–नारीहरूका लागि पनि अनुसरण हुने बताउँदै मनको किनाराले मुक्तक मार्फत् देशका अधिकांश नारीले भोग्दै आएको जीवन र आफूले देखेके जानेको समाजलाई खासगरी गृहिणीहरूको पीडालाई उजागर गर्ने जुन प्रयास गरेको छ त्यो मार्मिक छ । बिमलाले साहित्य लेखनमा निरन्तरता दिए अझै उचाइ लिन सक्ने विश्वास ब्यक्त गर्नु भयो ।

समालोचक युवराज मैनालीले बिमलाका मुक्तकहरुमा फरक स्वाद पाइने बताउँदै मुक्तकमा विविधता रहेको बताउनु भयो । उहाँले भन्नु भयो मनको किनारामा देश प्रेम छ, समाजिक विकृतीमाथी ब्यङ्ग्य छ, नारीका पीडाहरु छन् । विद्रोह छ, समाजप्रति खबरदारी छ, सरकारमाथीको आलोचना पनि छ ।

गजलकार रुद्र अधिकारीले गजल र मुक्तक लखनको बाढि आएको समयमा पनि बिमलाका मुक्तकहरु स्तरीय र परिपक्क रहेका बताउँदै मनको किनारा वर्तमान नेपाली मुक्तक लेखनको एउटा गतिलो कृति रहेकोमा दुईमत नभएको बताउनु भयो ।
प्राज्ञ एवम् कवि डा खेम बन्धु कोइरालाले साहित्य लेखनमा महिलाहरुको उपस्थितीले उनिहरुको पीडा र भावना उजागर हुने बताउँदै मनको किनाराको सफलताको शुभकामना ब्यक्त गर्नु भयो ।

कार्यक्रमको अध्यक्षता गर्नु भएकी कवि एवम् नोवेल साकोस साहित्य प्रतिष्ठानकी अध्यक्ष सरस्वती गौतमले बिमला अधिकारीका मुक्तकहरु नारीहरुका पीडाको प्रतिनिधी भएको बताउँदै नारी साहित्कारहरु पनि अगाडी आउनु पर्नेमा जोड दिनु भयो । राम्रो लेख्नेलाई सबैले प्रशंसा गर्ने बताउँदै बिमलाको लेखन लोभलाग्दो रहेको बताउनु भयो ।

नोवेल साकोस साहित्य प्रतिष्ठानले बजारमा ल्याएको मुक्तकसङ्ग्रहमा सामाजिक विकृति, मायाप्रेम, देशकोप्रतिको चिन्ता लगायत फरकफरक स्वादका १९० मुक्तक सङ्ग्रहित छन् ।

फिल्मी बुज़